“मधेसी जनता कुनै पार्टीसँग छैनन्”



 

कृष्णा सिंह
प्रवक्ता, राष्ट्रिय जनता पार्टी, नेपाल

देशका तीन वटा प्रदेश ३, ४ र ६ मा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले काम थालिसकेका छन्। प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा निर्वाचन सम्पन्न भएर मतपरिणाम आउने क्रममा छ। सरकारले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले माग पूरा नभएसम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने अडान कायमै राखेको छ। राजपा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने गृहकार्यमा जुटेको छ।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको तराई मधेस युवा फ्रन्टका संस्थापक अध्यक्ष एवं राजपाका प्रवक्ता कृष्णा सिंह संविधान संशोधन नभएसम्म २ नम्बर प्रदेशमा निर्वाचन हुन नसक्ने बताउँदै संविधान संशोधनबिना स्थानीय तहको निर्वाचनमा भाग लिने सम्भावना नरहेको बताउनुहुन्छ। राज्यले नै विखण्डनकारीहरुलाई बढावा दिन थालेको निष्कर्ष निकाल्दै उहाँले राजपाको माग सम्बोधन नभए देश अर्को दुर्घटनामा फस्ने बताउनुभयो। राजपाको आन्दोलन, असोज २ गते हुने स्थानीय तहको निर्वाचन र अबको निकासलगायतको विषयमा केन्द्रित हामीले यसपालि कुराकानी गरेका छौं। प्रस्तुत छ, राजपाका प्रवक्ता सिंहसँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझी र बीपी साहले गरेको कुराकानीका मुख्य अंशहरूः

दोस्रो चरणको निर्वाचनमा जनताले मतदान गर्न नपाउँदा २ नम्बर प्रदेशमा जनता दुःखि भए भन्छन् नि ?

प्रदेश नम्बर १ र ५ मा निर्वाचन भए पनि त्यहाँका जनता खुसी छैनन्। अमेरिका र बेलायत सरकारले विज्ञप्ति जारी गरेका छन्। अब पनि निर्वाचनमा बेलायत र अमेरिकाले अनुगमन गर्न पाउ भनेर उल्लेख गरेका छन्। निर्वाचनमा कसलै भाग लिए होलान्। तर, राजपाका कुनै पनि कार्यकर्ता निर्वाचनमा सहभागी भएका छैनन्। राजपाले बहिष्कार गरेको छ। राजपाले स्वतन्त्र उम्मेदवार दियो भन्ने जहाँसम्मको कुरा छ। स्वतन्त्र उम्मेदवार कुनै पनि पार्टीको हुँदैन। हाम्रो पार्टीका कुनै पनि जिम्मेवार पदाधिकारी र कार्यकर्ताहरुले उम्मेदवारी दिएका छैनन्।

सरकार परिवर्तन भइरहेको छ। सरकार र राजपा बेला–बेलामा सहमतिनजिक पुग्ने गरे पनि अहिले आन्दोलनमा हुनुहुन्छ, किन ?

हामीसँग विगतका सरकारले पनि सहमति गरेका छन्। अहिले मौखिकरूपमा सहमतिनजिक पुगेको हो। तर, लिखितरूपमा मौखिक सहमति कार्यान्वयन गर्ने क्रममा विभिन्न बहाना र जालझेलहरु हुने गरेका छन्। राजपाको निर्माण पनि मधेस आन्दोलको देन हो। निर्वाचनमा जाने कुरामा मधेसका जनता बिनासंविधान संशोधन चुनाव निर्माणमा नजाने जनाएका छन्। साथीहरुको व्यक्तिगत विचार आउन सक्छ। राजपाको स्पष्ट अडान छ, बिनासंविधान संशोधन हामी कुनै पनि हालतमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिँदैनौं। हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं। कुनै हिसात्मक गतिविधि गरेका छैनौं।
निर्वाचनको क्रममा शीर्ष नेताहरु १ र ५ नम्बरमा बसेको भए हिंसा मच्चाउने र हत्या गर्नेसम्मको योजना बनाइएको थियो। सेना र प्रहरी खटाइएको थियो। आन्दोलन थोरै अगाडि बढेको अवस्थामा मधेसी जनताको क्षति बढी हुन्थ्यो। नियोजित ढंगले ५ र १ नम्बर प्रदेशको निर्वाचन सरकारले जबरजस्ती गराएको हो।

हत्या गर्ने सूचनाको आधार के हो ?

विगतको कैलाली घटनाको बारेमा पहिला नै वर्षमान पुनलाई थाहा थियो। माओवादीका नेताहरुले बोलेका थिए। महन्थ ठाकुरको समापन भाषणमा अन्तिम चरणमा घटना गराइयो। अचानक भेष बदलेर प्रहरीले फाइरिङ गर्नु हिंसा भड्काउन नभएर के थियो त ? हाम्रो पार्टीले संयमता नअपनाएको भए ठूलो दुर्घटना हुन्थ्यो। हामीलाई त्यहाँको सूचना थियो।

सहमति गर्नका लागि दुवै पक्ष लचक हुनुपर्ने हो नि होइन ?

देश हाँक्ने कांग्रेस, एमाले र माओवादी केन्द्र नै हुन्। उहाँहरुसँग नै हामीले सहमति गरेका हौं। हामीले शान्तिपूर्ण ढंगबाट नै हाम्रो माग पूरा होस् भनेर दबाब दिइरहेका छौं। हामीले सशस्त्र विद्रोह गरिरहेका छैनौं। हाम्रो पार्टी लोकतन्त्रमाथि विश्वास गर्ने पार्टी हो। मधेसले मानव भएर पाउनुपर्ने अधिकार मात्र मागेको छ। मधेसको माग पूरा गर्न नदिने मुख्य दोषी एमालेका अध्यक्ष केपी ओली नै हुन्। ओलीले जसरी प्रतिबद्धता जनाउनुभयो र त्यो तोड्ने काम उहाँबाट भएको छ। ओलीलाई म धन्यवाद दिन चाहन्छु। किनकि ओलीको बोलीले गर्दाखेरि मधेसप्रतिको नकारात्मक अभिव्यक्तिकै कारण फरक–फरक मधेसवादी दलहरु मिलेर एउटै पार्टी बनेको छ।

अहिलेको समस्याको समाधान चाहिँ कसरी होला त ?

अहिले यस्तो अवस्था आएको छ। यदी मधेसको मुद्दालाई थोरै पनि दायाँबायाँ गर्ने हो भने मेधसी जनता राजपासँग पनि हुँदैनन्। मधेसी जनता अहिले कुनै पार्टीसँग छैनन्। मधेसमा मधेसी जनता युवाहरु यसरी जागरुक भएका छन् कि अब मधेसमा महन्थ ठाकुरको जरुरी छैन। उपेन्द्र यादव र राजेन्द्र महतोको जरुरी छैन।

अब २ नम्बर प्रदेशको निर्वाचन के होला ?

सरकारले २ नम्बर प्रदेश छोडेर निर्वाचन गरेर ठूलो घटना गराउने काम गरेको छ। सरकारले सोचेको होला ५ र १ नम्बर प्रदेशमा निर्वाचन भइहाल्यो अब २ नम्बरमा भइहाल्छ। सरकारले हाम्रो माग पूरा नगर्ने हो भने २ नम्बर प्रदेशमा हिंसा हुनेवाला छ। मधेसी जनताहरु परिस्थतिले हिंसाको बाटो रोज्न बाध्य हुने परिस्थिति सिर्जना गरिँदै लगिएको छ। हिंसा रोक्ने काम यथाशीघ्र राज्यले गर्नुपर्छ। होइन भने राजपाले पनि केही गर्न सक्दैन।

लोकतन्त्रमा जनताको मत नै ठूलो कुरा हो। निर्वाचनमा जान राजपालाई किन अप्ठ्यारो भइरहेको छ ?

अहिले संविधानसभाको निर्वाचन होइन। हामीले विकासको विषय उठाएको छैन। हामीले भनेअनुसारको संविधान नपाएको अवस्था छ। जनमतलाई त हामीले स्वीकार गरेकै छौं। मधेसी जनताले आफ्नो अधिकारको संविधानसभाबाट नै प्राप्त होस् भन्ने चाहेका थिए। स्थानीय तहको निर्वाचन मधेसी जनताको अधिकारसँग जोडिएको छ। जुन मधेसी जनताले जनसंख्याको आधारमा प्रतिनिनिधित्व हुनुपर्ने माग उठाएका छन्। ५० हजार जनसंख्या भएको ठाउँमा एउटा गाउँपालिका छ। कहीं ५ हजारको गाउँपालिका छ। स्थानीय तहको निर्वाचनमा भाग लिने भनेको त यो संविधानलाई वैधानिकता दिने हो नि। हामी निर्वाचनमा जान्छौं। चुनावभन्दा बाहिर हामी कतै पनि जान सक्दैनौं।

असोज २ गतेअघि नै संविधान संशोधन होला त ?

विगत हेर्ने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीमाथि विश्वास गर्न सकिने अवस्था छैन। अधिकारबाट मधेसलाई वञ्चित गर्ने काम देउवा र ओलीले नै गरेका हुन्। संविधानसभाका लागि हामीले पनि लडेकै हो। मधेसी जनताले पनि लडेकै हो। हामी लचक पनि भएकै हौं।

राजपालाई सहमतिमा ल्याउनकै लागि प्रधानमन्त्रीले निर्वाचनको मिति सार्नु सकारात्मक पक्ष नै होइन र ?

अन्तरिम संविधानमा भएको अधिकार हटाउने काम भएको छ। हामीले अन्तरिम संविधानमा धेरै कुरा पाएका थियौं। संघीयता, एक मधेस एक प्रदेश र आत्मनिर्भरताको कुरा छ। यो संविधानसभाको नाममा हाम्रो अधिकार कटौती गर्ने काम शुरु भयो। जति हामी लड्दै गयौं हाम्रो अधिकार त्यति नै कटौती हुँदै गयो। मधेसीलाई भारतको यूपी र विहारबाट आएको भनेर आरोप लगाइन्छ। कसैको पहिचान र अधिकारबाट कसैले वञ्चित गर्न सक्दैन। शेरबहादुर देउवाले आफ्नो पालामा गर्ने र केपी ओलीले आफ्नो पालामा गर्ने सोचको कारण मधेसी जनता पीडित हुँदै आएका छन्। कि त भन्नुपर्यो मधेसी जनताको माग नाजायज हो। के–के विषयमा माग पूरा गर्न नसक्ने हो स्पष्ट भन्नुपर्यो नि। भाषा, पहिचान र नागरिकताको अधिकार पाउनुपर्छ भन्दा थाहा छैन भन्न मिल्छ ? जबरजस्ती निर्वाचन गराउँछन् भने हामीले त रोकेकै छैन। हामी सडकमा छौं। जबसम्म हाम्रो अधिकार प्राप्त हुँदैन तबसम्म हामी सडक र आन्दोलनमै हुन्छौं। राजपाका कार्यकर्ताको दबाबमा नै निर्वाचनमा भाग नलिएको हो।

एउटै गठबन्धनमा रहनुभएका संघीय समाजवादी फोरम नेपालले त निर्वाचनमा भाग लियो नि ?

विगतको आन्दोलनमा उपेन्द्र यादवले ल्यान्डिङ गर्नुहुन्थ्यो। मधेसी जनतालाई मनाउन सकिन्छ भन्नुभयो। अहिलेको परिस्थितिमा निर्वाचनमा भाग लिनु दुर्भाग्य हो। अहिलेको निर्वाचनमा उपेन्द्र यादवलाई बढी भोट आउनुपर्ने आएन नि त।

२ नम्बर प्रदेशमा राजपा कमजोर भएकै कारण निर्वाचनमा भाग नलिएको भन्ने आरोप छ नि ?

यो आरोप सरासर गलत हो। राजपासँग जनमत छ। त्यही भएर कांग्रेसका जिल्ला सभापति र सांसदहरुले राजपाको जनमतबाट डराएर २ नम्बर प्रदेशमा निर्वाचनको मिति सार्न पार्टीलाई दबाब दिएका हुन्। मधेसी जनता जसले अधिकार खोजेका छन्। सबै राजपासँग छन्। सबै पार्टी एकातर्फ छन्, राजपा अर्कातर्फ छ।

तपाईंहरूसँग जनमत रहेको जिकिर गर्नुहुन्छ। तपाईंहरूले चुनावबाट बहुमत ल्याएर आफ्नो माग पूरा गराउन सक्नुहुन्छ नि ?

संविधान संशोधनका लागि अहिले निर्वाचन भएको होइन नि। अहिले त स्थानीय निकायको निर्वाचन भएको हो। अहिलेको निर्वाचन संविधान कार्यान्वयनका लागि गराइएको छ। र, हामीले अहिलेको संविधानलाई स्वीकार गरेका छैनौं। दुई पटक संविधानसभाको निर्वाचन भयो। तर, संविधानसभामा हामीलाई पेलियो। त्यस कारण अब हाम्रो माग सडकबाटै पूरा हुनेछ।

तर, संविधानमा समानुपातिक समावेशीको ग्यारेन्टी गरिएको छ नि ?

कुन ग्यारेन्टीको कुरा गर्नुहुन्छ। लेखिएको त धेरै कुरा छ। तर, एकपक्षीय हितमा लेखिएको छ। समावेशी समानुपातिकलाई डाइलुट गरिएको छ। त्यहाँ मधेसीको ग्यारेन्टी गरिएको छैन। यहाँ मधेसीलाई गुलाम बनाउन खोजिएको छ।
ब्रिटससँगको सन्धिबाट मधेसीलाई नेपालमा मिसाइयो र त्यसबेलादेखि गुलाम बनाइएको छ। अहिले पनि गुलाम बनाउन खोजिएको छ। त्यसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं।

तपाईंहरूले अंगिकृतलाई राज्यको प्रत्येक अंगमा लग्न खोज्नुभएको छ। यो कतिको जायज हो ?

यो गलत बुझाई हो। हामीले अंगिकृतको वकालत कहिले पनि गरेका छैनौं। हामीले त बिहेवारी गरेर हाम्रो घरमा भित्त्याइएकी दुलही जो आफ्नो देशको नागरिकता त्याग गरेर नेपाली हुन स्वीकार गर्छिन् उनीहरुको अधिकारको कुरा गरेका हौं। उनीहरु समान नागरिक किन हुन सक्दैनन् ? उनीहरुलाई पनि नेपालीसरह अधिकार दिनुपर्छ भन्ने हाम्रो माग हो।

तपार्इंहरूले तीन वटा मधेस आन्दोलन गर्नुभयो। करिब साढे ३ सय मानिसले ज्यान गुमाए। तर, तीनवटै मधेस आन्दोलन असफल भएको देखिन्छ नि ?
होइन। सबै आन्दोलन आंशिकरूपमा सफल भएका छन्। मधेस आन्दोलन नभएको भए अहिले काठमाडौंमा मैथिली भाषामा बोल्न पनि डर लाग्थ्यो। अहिले हामी खुलेर बोलेका छौं। हाम्रो आन्दोलनले संघीयता आयो, समानुपातिक समावेशी आयो, आरक्षण आयो। अन्य कयौं उपलब्धिहरु भएका छन्। त्यस कारण मधेस आन्दोलन असफल भयो भनेर भन्न मिल्दैन।

तपार्इंको पार्टीका नेताहरूले कहिलेकाँही राज्यले यो माग वा त्यो माग पूरा नगरे मधेस छुट्टै देश बन्नेछ भन्ने धम्की दिँदै आउनुभएको छ। यसो गर्न मिल्छ ?

राजपाका कुनै नेताले मधेस अलग देश बन्नुपर्छ भनेर माग गर्नुभएको छैन। तर, आन्दोलनको क्रममा सरकारको रबैया हेरेर हाम्रा नेताहरुले कहिलेकाँही आक्रोश व्यक्त गर्नुहुन्छ। त्यो पार्टीको लाइन होइन। मेरो विचार अहिले मधेसी जनता मधेस अलग देश बनाउनुपर्छ भन्ने पक्षमा छैनन्। तर, राज्य सचेत भएन भने त्यो आवाज बढ्दै जानेछ। त्यस कारण मधेसलाई राज्यले समेटेर देशलाई जोगाउनुपर्छ। होइन भने भोलिको दिनमा सीके राउतलाई कसैले रोक्न सक्दैन।

तपाईंहरू संविधान संशोधन नभए निर्वाचनमा सहभागी नहुने भन्नुहुन्छ। सत्ता पक्षले आफूहरूसँग संविधान संशोधन गर्न सक्ने क्षमता नरहेको बताउँछ। के निर्वाचनमा जान अर्को मध्यमार्ग छैन ?

त्यस्तो केही मध्यमार्ग छैन। संविधान संशोधन हुनैपर्छ। उनीहरुले पनि स्वीकार गरिसकेको अवस्था छ। हामीले सत्ता पक्षलाई मात्रै भनेका छैनौं, प्रतिपक्षलाई पनि भनेका छौं। विभेदकारी संविधान जारी गर्न मिल्छ अनि संशोधन गर्न मिल्दैन ? त्यस कारण हामीले भनेका छौं, सबैले मिलेर संविधानको स्वीकार्यतालाई बढाऔं र देशमा स्थायी शान्ति कायम गरौं।

त्यसो भए संविधान संशोधन नभएसम्म २ नम्बर प्रदेशमा निर्वाचन हुँदैन ?

हुँदैन। राजपा संविधान संशोधन नगरी निर्वाचनमा जाँदैन। संशोधनबिना राजपा निर्वाचनमा गए मधसी जनताले नै राजपाको साथ छोड्नेछन्।

यता तपाईंहरूले नेकपा एमालेसँग मिलेर अहिलेको सरकारलाई धरापमा पार्न खोजेको हल्ला छ नि ? तपार्इंहरूले समर्थन पनि फिर्ता लिँदै हुनुहुन्छ।

हो हामी सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्यमा जुटेका छौं। हामीसँग भएको सहमति पालना नहुने हो भने सरकारलाई समर्थन गर्नुको अर्थ पनि छैन। यस विषयमा पार्टीभित्र गहन छलफल भइरहेको छ। सहमति गर्ने तर कार्यान्वयन नगर्ने त नेपालको राजनीतिको परम्परा नै भइसक्यो। यो धोका हामीले पहिलोपटक खाएका होइनौं। हामी एमालेसँग पनि छलफल गरिरहेका छौं। तर, सरकारलाई धरापमा पारेका छैनौं।

त्यसो भए यो सरकार ढाल्ने पक्षमा राजपा लागेको हो त ?

हामी सरकार ढाल्ने पक्षमा छैनौं। हामी त हाम्रो माग पूरा गराउने पक्षमा छौं। सरकार जसको बने पनि हुन्छ। तर, हाम्रो माग पूरा हुनुपर्छ। हामीले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा सरकारलाई समस्या नआए पनि नैतिक दबाब पर्छ। त्यस कारण हामी माग पूरा गराउन केही कदम चाल्दै छौं। सरकार ढाल्न होइन।

त्यसो भए अरू प्रदेशको स्थानीय निकायले वैधानिकता पाउँदै गर्छ र २ नम्बरको विकास निर्माण रोकिएपछि झन् अप्ठेरो पर्ला नि ?

२० वर्षसम्म कर्मचारीबाट चलेको स्थानीय निकायमा केही दिन अझै जनप्रतिनिधि नजाँदा ठूलो समस्या नहोला। यहाँ त संस्थागत भ्रष्टाचार भएको छ। हामीले प्रणाली ठीक गर्न चाहेका छौं। २ नम्बर प्रदेशमा त्यसले कुनै असर गर्नेछैन। २ नम्बरलाई त राज्यले उहीलेदेखि नै उपेक्षा गरेको छ। केही दिन अझै रहँदैमा केही हुने छैन। तर, भोलि राम्रो बन्नेछ।

मधेसी नेताहरू त उपप्रधानमन्त्रीसम्म भएका छन्। तर, पनि मधेसका लागि केही गरेनन् भन्ने गुनासो छ नि ?

त्यही भएर त हामीले सिस्टमको विकास गर्ने भनेका छौं। त्यही नेपाली कांग्रेसले मधेसबाट सबभन्दा बढी मत ल्याउँछ। खोई त विकास गरेको ? उसकै नेतृत्वमा लामो समयसम्म सरकार रह्यो। खोई त विकास गरेको ? अरू पनि थुप्रै छन्। मेरो भनाइको अर्थ के छ भने केही मधेसी नेताले गर्न नसकेको होला। तर, राज्य त सधैं गैरमधेसीले चलाएको हो। खोई त विकास गरेको ? नेपाल एसियाको दोस्रो दरिद्र मुलुकमा पर्यो त।

नेपालमा राष्ट्रवादी हुन भारत वा चीनलाई गाली गरिन्छ। त्यसमा पनि तपाईंहरूलाई भारत निकट मानेर चर्चा चलाइन्छ। वास्तविकता के हो ?
यो कुरा मलाई पनि अचम्म लाग्छ। हाम्रो सम्बन्ध भारतसँग मात्रै हो र ? अमेरिका, चीन, युरोप आदिसँग पनि त हाम्रो कुराकानी हुन्छ। त्यसको चर्चा कसैले गर्दैन। भारतले त जसरी फाइदा हुन्छ त्यही आधारमा कुरा सुन्ने हो। सबै छात्रवृत्तिमा र सहयोगमा हेर्नूस् मधेसीले बढी पाएको छ कि पहाडीले बढी पाएको छ। हामीसँग जोडेर अफवाह फैलाइएको छ। हामीभन्दा बढी त कांग्रेस एमालेका साथीहरुले भारतबाट फाइदा लिँदै आएका छन्। अनि मधेसीलाई अधिकारबाट वञ्चित गर्नुपर्यो भने भारतको कुरा उठाउँछन्। त्यस कारण अब हामी भ्रममा पर्नुहुँदैन। काठमाडौं र दिल्लीको सम्बन्ध अलग होला तर मधेस र विहार उत्तरप्रदेशको आफ्नै सम्बन्ध छ। मधेससँग भारतको सीमाना जोडिएको छ। त्यस कारण उसले अलिक बढी चासो दिएको छ। तर, लेनदेन कांग्रेस, एमाले र माओवादीसँगै गरेको छ।

प्रतिक्रिया दिनुहोस्