को–को थपिँदै छन् मन्त्री ? एक साताभित्र विस्तार, प्रधानमन्त्रीको सचिवालय अझै बनेन



 

मधुसूदन रायमाझी, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ। जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिक फोरमलगायतका दलहरूको सल्लाहमा मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो। पार्टीहरुभित्रको किचलोका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन भने आफ्नै सचिवालयसमेत बनाउन सक्नुभएको छैन।

मन्त्रिपरिषद् विस्तार गर्नकालागि कांग्रेसका पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीलाई दबाब परेको छ। उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालय पाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मागलाई बेवास्ता गर्दै देउवाले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री बनाइसक्नुभएको छ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन। पौडेल पक्षले ६ जनाको दाबी गरेको छ। कांग्रेसले १० भन्दा बढी मन्त्रालय लिने बताइएको छ। मन्त्री छनोट गर्नका लागि प्रधानमन्त्रीले पार्टीभित्र आन्तरिक गृहकार्य गरिरहनभुएको छ। मन्त्री बन्ने आकांक्षीहरू धेरै हुँदा देउवा दबाबमा रहनुभएको बुझिएको छ। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले अबको एकसाताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य गरिरहनुभएको छ, यस विषयमा सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि कुराकानी भइरहेको छ।’

उहाँका अनुसार केही दिनभित्र नै सचिवालयमा रहने टिमका बारेमा टुंगो लाग्नेछ। सरकार गठन भएको झन्डै एक महिना पुग्न लाग्दासमेत प्रधानमन्त्री देउवाले सचिवालयमा रहने सदस्यहरूको टुंगो लगाउन सक्नुभएको छैन। प्रधानमन्त्री देउवाले महामन्त्री डा. शशांक कोइराला अमेरिकामा रहनुभएका कारण पदाधिकारी बैठक बोलाउन सक्नुभएको छैन।

त्यसैगरी सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सरकारमा पठाउने मन्त्रीहरूको बारेमा छलफल गर्न गृहकार्य अगाडि बढाउनुभएको छ। माओवादीबाट उपप्रधानमन्त्रीसहित तीन मन्त्री सहभागी भइसकेका छन् भने बाँकी ६ जना मन्त्री पठाउन बाँकी छ। प्रचण्डले प्रत्येक प्रदेशबाट एक⁄एक जना र समावेशी हुने गरी मन्त्रीहरूको टुंगो लगाउने तयारी गर्नुभएको छ। प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउन अध्यक्षले पदाधिकारी बैठक बसेर निर्णय गर्ने बताउनुभयो। ‘पार्टीभित्र मन्त्री छनोटमा छलफल भएको छ, निर्णय पदाधिकारीको बैठक बसेर गर्ने तयारीमा अध्यक्ष हुनुहुन्छ।’ –उहाँले भन्नुभयो।

निर्वाचनको क्रममा केन्द्रीय कार्यालयका नेताहरू राजधानीबाहिर रहनुभएकाले केही दिनभित्र नै बैठक बसेर मन्त्रीको टुंगो लगाउने तयारी प्रचण्डले गर्नुभएको छ। प्रधानमन्त्री देउवा र नेपाल लोकतान्त्रिक फोरमबीच प्रचण्ड नेतृत्वको सरकारमा लिएको मन्त्रालय लिने सहमति भएको छ। लोकतान्त्रिक फोरमभित्र मन्त्री छनोट गर्ने विवाद नरहेको पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘स्थानीय विकास, पर्यटन, भूमिसुधार तीनवटा मन्त्रालय लिने सहमति भएको हो, यस अघि भएकाहरूलाई निरन्तरता दिने हुँदा मन्त्री छनोटमा कुनै समस्या छैन।’

राप्रपा भने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा दोधारमा देखिएको छ। राप्रपाभित्र सरकारमा जानुपर्ने र जान नहुने दुई धार देखिएका छन्। देउवा र राप्रपाका अध्यक्ष कमल थापाबीचमा कुराकानी भए पनि मन्त्रालय बाँडफाँडमा कुरा मिल्न सकेको छैन।

राप्रपा नेपालकी प्रमुख सचेतक कुन्तीकुमारी शाहीले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा प्रधानमन्त्रीसँग वार्ता भइरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारलाई मतदान गरेर समर्थन गरेका छौं, प्रधानमन्त्रीले सरकारमा आउनुपर्यो, भनिरहनुभएको छ, संसद्मा सहभागिताको आधारमा मन्त्रालय पाउनुपर्ने हामीले भनेका छौं।’ उहाँले सदनमा पार्टीको उपस्थिति अनुसारकै न्यायोचित सहभागिता गराए सरकारमा सहभागी हुने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्