यौनसम्बन्ध पछी फेरी भर्जिन हुन के गर्नु पर्ला ?



विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । यसका लागि अंग्रेजी शब्द भर्जिन प्रयोग गरिन्छ ।

कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा हात तथा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरा विभिन्न परिस्थितिमा भर पर्ने गरेको पाइन्छ ।

कौमार्य परीक्षण
योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पनि अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न नसकिने स्थितिमा पुगेको छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

फेरि कुमारी बन्ने कुरा
कतिपय सम्प्रदायमा यौनसम्पर्क राखिएपनि कौमार्य नवीकरण गर्ने प्रचलन छ । यद्यपि एकपटक यौनसम्पर्कको अनुभव लिएपछि पुन: अनुभवहीनताको स्थितिमा पुग्न सकिँदैन । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले आफ्नो कौमार्य फर्काउन सक्नुहुन्न । तपाईंले योनिच्छदलाई पुन: बनाउने कुरा गर्नुभएको होला । अहिले कतिपय देशमा त्यस्तो चलन छ । च्यातिसकिएको भए पनि योनिच्छद (hymenorrhaphy) शल्यक्रिया गरेर पुन: बनाइएको  पनि पाइन्छ, यसले योनिच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।

थाहा नदिन के गर्ने ?
आफ्नो पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा तपाईंले कतै चर्चा गर्नुभएन भने तपाईं उक्त अवस्थावाट गुज्रनुभएको होला भन्ने कुरा थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै नै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो । कुमारित्व योनिच्छद भए–नभएको कुरालाई आधार बनाउन नमिल्ने कुरा त तपाईंले बुझि नै सक्नुभयो ।

विचार गर्नुपर्ने कुरा के भने घर–परिवार, छर–छिमेक अनि समाजले जहिले पनि यस्ता सम्भावित सम्बन्धलाई नियालिरहेको हुन्छ भने गोप्यता वा गोपनीयताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र अन्त्यमा श्रीमान्ले पनि जानकारी पाउने सम्भावना हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा, तपाईंको प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने हो, तर उसले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । अर्कातिर तपार्इंले शल्यक्रियाको प्रयास गर्नुभयो भनेचाहिँ मानिसलाई थाहा हुने सम्भावना अझ बढ्छ ।

तपाईंले पहिलेको प्रेमीसँगको जीवनलाई त्यहीं छोडेर अघि बढ्नु उचित हुन्छ । जे–जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्न आफूलाई तयार राख्नुपर्छ । आफूले यौनसम्पर्क राखेको कुरा थाहा पाइएला भन्ने कारणले विवाह नगर्ने सोच बनाउनु उचित होइन । विवाहपूर्व यौनसम्पर्क गरेकै भरमा विवाहित जीवन नचल्ने होइन, अन्यथा पुनर्विवाह गर्नेहरूको जीवन जहिले पनि दु:खद हुने थियो । कुनै यौन क्रियाकलापमा संलग्न भएका कारणले शारीरिक रूपमा यौनसुख लिनेदिने कार्यमा संलग्न हुन नसक्ने पनि होइन । यदि असर पर्छ भने मनोसामाजिक रूपमा । अर्को व्यक्तिसँग यौनसम्पर्क गरेको थाहा हुनुलाई धेरैले अप्रिय मान्छन् । यस्तो कुरा यौनाङ्गको स्वरुप हेरेर होइन, कसैले भनिदिएर थाहा
पाइएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्