व्यापारी श्रेष्ठको हत्या,मोटो फिरौती लिन अपहरण गरिएको खुलासा



नरेन्द्र केसी, घोराही, दाङ ।

गत जेठ २६ गतेदेखि अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्या भएको छ। श्रेष्ठलाई अज्ञात समूहले अपहरण गरेको अनुमानका आधारमा अनुसन्धान थालेको प्रहरीले सल्यान पुर्याएर हत्या गरिएको रहस्य सार्वजनिक गरेको छ।

श्रेष्ठ तुलसीपुरबाट बा११च १०७१ नम्बरको निजी गाडीसहित हराउनुभएको थियो। उहाँ चढेको गाडी सल्यान कपुरकोट गाउँपालिका–५, मेलखोलास्थित भित्री कच्ची सडकमा भेटिएको थियो। यसकै आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा अभियुक्त पक्राउ परेपछि उनीहरूबाट हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरेन्द्रप्रताप सिंहले बताउनुभयो।

श्रेष्ठ शव सल्यान छत्रेश्वरी गाउँपालिका–४, झिम्पे लेकमा फेला परेको छ। व्यापारी श्रेष्ठलाई गत जेठ २६ गते सँँझ पौने ६ बजे तुलसीपुर–६ बस्ने १७ बर्षीया पूजा घर्तीले फोन गरी बोलाएको र सल्यान कपुरकोट–५ मेलखोलासम्म गाडीमै लगेको खुलेको प्रहरीले जनाएको छ। त्यहाँबाट गाडी छाडेर श्रेष्ठलाई हिँडाएर जेठ २९ गते नै सल्यान छत्रेश्वरीमा लगी हत्या गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार श्रेष्ठको हत्या गरेर ओडारमा फालेको पाइएको छ।

अपहरणकारी दिनभरी लुक्ने र रातभरी हिँडाउने गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ। ‘उनीहरूले खानका लागि १० किलो चिउरा समेत लिएर गएको खुलेको छ’ सिंहले भन्नुभयो। ‘समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगरको विरामी समेत भएकाले कम्जोर हुदै गए र २९ गते दिउँसो ढलेका थिए।’ अपहरकारीले उपचार गर्नुको साटो ढुङगाले टाउकोमा हिर्काएर निर्मम तवरले हत्या गरेर फालेको अनुसन्धानबाट खुल्न आएको छ।

यसैबीच व्यापारी श्रेष्ठलाई मोटो रकम फिरौती लिनका लागि अपहरण गरिएको खुलेको छ। ‘अपहरणकारीले २७ गते श्रेष्ठको रेकर्ड गरिएको आवाज सुनाएर २ दिनभित्र ३ करोड बुझाउन परिवालाई फोन गरेको पनि खुलेको छ’ सिंहले जानकारी दिनुभयो। परिवारले एक पटक उहाँसंँग कुरा गर्न चाहेको र भनेजति पैसा दिने कुरा गरेको भएपनि उनको हत्या गरिसकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटेर सम्पर्कमा आएका थिएनन्।

केहि दिनअघि धादिङबाट पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका–१२ निवासी २५ बर्षिय अबिरल महतराको बयानका आधारमा प्रहरीले अनुसन्धानमा सफलता प्राप्त गरेको हो। महतराले श्रेष्ठको हत्या गरि गाडेको स्थान देखाएकापछि घटनाको सम्पुर्ण विवरण बाहिर आएको हो।

श्रेष्ठको शवलाई छत्रेश्वरी गाउँपालिका–४, रैजेको जंगलमा लगेर गाडिएको थियो। केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक दिपेश लोहनी र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा शुक्रबार विहान ४ बजे ओरोपी सहित गएको टोलीले श्रेष्ठको शव गाडेको ठाउँमा पुगेर उत्खनन गरेको थियो। शवलाई हेलीकोप्टर मार्फत तुलसीपुर ल्याइएको छ।

प्रहरीले घटनामा संलग्न ७ जना मध्ये ४ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा घोराही–४ बस्ने बर्ष ४० को रमेश भन्ने मनबहादुर पुन, साविक पवननगर–१ घर भई हाल तुलसीपुर–६ निवासी २३ बर्षिय रुगत थापामगर , घोराही उपमहानगरपालिका–१४, नयाँबजार निवासी ३८ बर्षकी जमा पुन रहेका छन्।

आरोपी साविक झिम्पे–४ निवासी ३५ बषर््ािय मानबहादुर भण्डारी, तुलसीपुर–६ निवासी १७ बर्षिया पुजा घर्तीमगर, पुजाको वुबा बर्ष ४० का टीकाराम घर्तीमगर भने फरार रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्