घट्यो वैदेशिक लगानी



 

हेमन्त जोशी, काठमाडौं ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा वैदेशिक लगानी घट्दै गएको छ। गत फागुन तेस्रो साता सरकारले लगानी सम्मेलन गरेपछि नेपालमा १४ खर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता आए पनि उद्योगमा विदेशी लगानी प्रत्येक वर्ष क्रमशः घट्दै गएको छ ।

कम्पनी रजिस्टारको कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ६७ अर्ब ४० करोड रुपियाँ पुगेको विदेशी लगानी गत आर्थिक वर्ष २०७२÷७३ मा १५ अर्ब २० करोड १८ लाख रुपियाँमा झरेको थियो। त्यस्तै चालू आर्थिक वर्षमा कम्पनी रजिस्टारको कार्यालयको तथ्यांकलाई हेर्दा असार १० गतेसम्म उद्योग क्षेत्रमा विदेशी लगानी १४ अर्ब १२ करोड १७ लाख ८० हजार रुपियाँ नेपाल भित्रिएको छ।

चालू आर्थिक वर्ष २०७३÷७४ को ११ महिनामा ३ सय ६६ वटा विदेशी कम्पनीहरू दर्ता भएका छन्। जसमा कृषि तथा वनसँंग सम्बन्धित १८ वटा उत्पादन क्षेत्रसँग सम्बन्धित ५३ वटा, सामाजिक सेवासँग सम्बन्धित १ सय ४७ वटा पर्यटन क्षेत्रमा सबैभन्दा बढी १ सय ३८ वटा सूचना प्रविधिसँग सम्बन्धित ७ वटा, निर्माण क्षेत्रसँग सम्बन्धित एउटा र मिनरल उद्योगका रुपमा २ वटा कम्पनीहरू दर्ता भएका छन्। यस अवधिमा जसअन्तर्गत पर्यटन क्षेत्रमा सबैभन्दा बढी ५ अर्ब ६९ करोड ३४ लाख ९० हजार रुपियाँ लगानी भित्रिएको छ।

त्यसैगरी सेवा क्षेत्रमा ४ अर्ब ५८ करोड ७४ लाख ९० हजार रुपियाँ लगानी भएको छ। उत्पादन क्षेत्रमा ३ अर्ब ४८ करोड २३ लाख ५० हजार रुपियाँ लगानी भएको छ। कृषि तथा वन क्षेत्रमा २४ करोड १० लाख १० हजार रुपियाँ लगानी भएको छ। सूचना प्रविधिका क्षेत्रमा ६८ लाख ७४ हजार रुपियाँ, मिनरल उद्योगमा ३८ लाख ५० हजार रुपियाँ, निर्माण क्षेत्रमा १० लाख २० हजार रुपियाँ लगानी भित्रिएको छ।

कम्पनी रजिस्टारको कार्यालयको तथ्यांक हेर्दा चालू आर्थिक वर्षमा मात्र यसरी दर्ता भएका कम्पनीहरूले १० हजार ८ सय ५२ जनालाई रोजगारी दिएको छ। सेवा क्षेत्रतर्फ सबैभन्दा धेरै ४ हजार १ सय २७ जनाले राजगारी पाएका छन्।

त्यस्तै पर्यटन क्षेत्रमा ३ हजार ६ सय २१ जनाले, निर्माण क्षेत्रमा २ हजार २ सय ६८ जनाले रोजगारी पाएका छन्। कृषि तथा वन क्षेत्रमा ३ सय ६० जनाले, निर्माण क्षेत्रमा ७० जनाले, सूचना प्रविधिको क्षेत्रमा २ सय ९१ जना र मिनरल उद्योगमार्फत् १ सय १० जनाले रोजगारी पाएका छन्।

हालसम्म झण्डै सात हजार विदेशी कम्पनीले नेपालीमा लगानी गरिरहेका छन्। यसरी दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन्। उत्पादनमुलक क्षेत्रमा २ हजार ७ सय १५ वटा विदेशी कम्पनी दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै सेवामूलक क्षेत्रका कम्पनीहरूमा १ हजार ९ सय सात वटा कम्पनी दर्ता भएका छन्। नेपालमा सञ्चालित यस्ता विदेशी कम्पनीको सूचीमा पर्यटन क्षेत्रका कम्पनी तेस्रो नम्बर छन्।

हाल नेपालमा पर्यटन क्षेत्रका १ हजार ४ सय ६ वटा कम्पनीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यसरी नेपालमा स्थापना भएर व्यवसाय गरिरहेका विदेशी कम्पनीले ५ लाख ३० हजारभन्दा बढी व्यक्तिलाई नेपालमा रोजगारी दिइरहेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ। नेपालमा दर्ता भएका यस्ता कम्पनीले १२ खर्ब ७५ अर्व १९ करोड २० लाख रुपियाँ बराबरको लगानी गरेको तथ्यांक रहेको छ।

नेपालमा विदेशी कम्पनीले साविकका कम्पनीमा शेयर हस्तान्तरणमार्फत् लगानी गर्न सक्ने प्रावधान छ। आन्तरिक लगानीबाट खोलिएका उद्योगमा ऋणमार्फत् पनि विदेशी लगानी भित्र्याउन तथा प्रविधि स्थानान्तरणमार्फत् पनि विदेशी लगानी भइरहेको छ।

नेपालमा उद्योग क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयअन्तर्गत औद्योगिक प्रवद्र्धन महाशाखाले सम्पत्ति व्यवस्थापन तथा लगानी आकर्षित गर्न विदेशी लगानीकर्तालाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन नेपाल सरकारको औद्योगिक नीति, वैदेशिक लगानी नीति तथा अन्य सम्बद्ध ऐनहरू समावेश गरी प्रवद्र्धनात्मक सामग्री प्रकाशित गर्ने, लगानीकर्ताले माग गरेका जानकारी उपलब्ध गराउने, नेपाललाई तुलनात्मक रुपमा लाभ पुग्ने क्षेत्रमा विदेशी लगानी भित्र्याउने लगायतका काम गरिरहेको छ।

विदेशी लगानी नीति २०७१ अनुसार विदेशी कम्पनीले आयकरमा छुट, नाफा विदेश लैजान पाउने, तथा नेपालका बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउन सक्ने व्यवस्था गरेको छ। उक्त नीतिमा विदेशी लगानीकर्तालाई छुट्टै परिचयपत्र वितरण गर्ने तथा उत्पादित वस्तुको मुल्य निर्धारणमा सरकारले हस्तक्षेप गर्न नपाउने व्यवस्था छ।

नीतिअनुसार विदेशी कम्पनीहरूले लघु उद्यम र परम्परागत घरेलु उद्योग, हातहरियार, खरखजाना, गोलीगट्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग, विकिरणजन्य पदार्थ सम्बन्धि उद्योग, मुद्रा तथा सिक्का व्यवसाय, आमसञ्चारका प्रसारण माध्यम लगायत क्षेत्रमा विदेशी लगानी गर्न पाइदैन।

उद्योग क्षेत्रमा लगानी गरिरहेका लगानीकर्तालाई संस्थागत विदेशी लगानीकर्ता, व्यक्तिगत विदेशी लगानीकर्ता गैरआवासीय नेपाली लगानीकर्ता गरी ३ तहमा वर्गीकरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्