नेसनल कलेजलाई उपाधि (फोटो फिचर)



काठमाडौं, (नेस)
आयोजक नेसनल कलेजले सिल्भर माउन्टेन कलेजलाई हराएर नेसनल कप इ–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलअन्तर्गत निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाका लागि पेनाल्टी सुटआउटसम्म कुर्नुपरेको थियो। टाइब्रेकरमा पनि ३–३ को बराबरी भएपछि विजेताको टुङ्गो सडेन डेथबाट भयो। सडेन डेथमा सिल्भर माउन्टेनले प्रहार गरेको पहिलो प्रहार नेसनलका गोलरक्षक ललित बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए।

त्यसपछि नेसनलका लागि मिलन बम ठकुरीले प्रहार गरेको बलले जाली चुम्दा पहिलो संस्करणको उपाधि आफ्नो पोल्टामा पार्यो।

खेलमा सिल्भर माउन्टेनले लिएको २–० को अग्रता जोगाउन नसक्दा उपाधि जित्न नसकेको थियो। पहिलो हाफमा विक्रान्त रानाले गोल गर्दै गोलअन्तर २–१ को स्थितिमा खुम्च्याए। खेल सकिन २ मिनेट बाँकी छँदा मिलन बमले उत्कृष्ट गोल गर्दै २–२ को बराबरीमा पुर्याएका थिए।

नेसनलले फाइनल प्रवेश गर्ने क्रममा नाथम कलेजलाई हराएको थियो भने सिल्भर माउन्टेनले एपेक्स कलेजलाई पाखा लगाएको थियो। उपाधिसहित नेसनल कलेजले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा सिल्भर माउन्टेनले १५ हजार नगद प्राप्त गरे। प्रतियोगिताका सर्वाधिक गोलकर्ता ११ गोलसहित नाथमका शितल गौतम भए। त्यस्तै उत्कृष्ट गोलरक्षक नेसनल कलेजका ललित बस्नेत घोषित भए।

तस्विर : निशान्त सिंह बम

प्रतिक्रिया दिनुहोस्