पाँच लाख सिरियाली स्वदेश फर्के



दमास्कस, (ऐजेन्सी)
संयुक्त राष्ट्र संघले यस वर्ष झन्डै ५ लाख सिरियाली जनता स्वदेश फर्केको र यो संकेत निकै महत्वपूर्ण र सकारात्मक रहेको शुक्रबार जनाएको छ। संयुक्त राष्ट्र संघको शरणार्थी निकाय (यूएनएचसीआर) ले गृहयुद्धका कारण आन्तरिक रुपमा विस्थापित ४ लाख ४४ हजार सिरियाली र करिब ३१ हजार विदेशमा पलायन सिरियाली स्वदेश फर्किसकेको जनाएको छ।

अधिकांश एलेप्पो, हामा, होमस् र दमास्कसका जनता आफ्ना सम्पत्ति जाँच्ने र परिवारका अन्य सदस्य भेट्ने उद्देश्यले स्वदेश फर्केको बताइएको छ। तर यूएनएचसीआरले अझै सिरिया शरणार्थीहरूका लागि फर्किन लायक हुने गरी सुरक्षित भइनसकेको जनाएको छ।

यूएनएचसीआरका प्रवक्ता आन्द्रेज माहेसिकले सन् २०१५ यता यसअघि नै करिब २ लाख ६० हजार शरणार्थी फर्किसकेको बताएका छन्। उनले हालै अस्ताना र जेनेभामा भएका शान्तिवार्ताको कारण थप शरणार्थी स्वदेश फर्किने आशा बढेको बताएका छन्।

सन् २०११ मा सिरियामा गृहयुद्ध शुरू भएयता करिब ५५ लाख व्यक्ति देशबाट बाहिरिएको तथा ६३ लाख आन्तरिक रुपमा विस्थापित हुन पुगेको अनुमान गरिएको छ।

राष्ट्रपति बसार अल असादको सरकारविरुद्धको हिंसात्मक आन्दोलनमा ३ लाखभन्दा बढी सिरियालीले ज्यान गुमाइसकेका छन्। यूएनएचसीआरले सन् २०१६ मा मात्र करिब २ लाख व्यक्तिले सिरिया छाडेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्