२ करोड ३० लाख डलरको कोकिन बरामद



सिड्तततनी, (एजेन्सी)
एउटा अन्तर्राष्ट्रिय लागूऔषध तस्कर समूहले प्रहरीको निगरानी छल्नका लागि ड्रोन विमानहरू प्रयोग गरेको तथा ७८ वटा ब्लक कोकिन अस्ट्रेलिया छिराउने असफल प्रयास गरेको प्रहरीले शुक्रबार जनाएको छ।

प्रहरीले पनामाबाट मेलवर्नमा आइपुगेको एउटा जहाजको सिपिङ कन्टेनरमा राखिएका तीनवटा ब्यागमा अन्तर्राष्ट्रिय बजारमा झन्डै २ करोड ३० लाख अमेरिकी डलर मूल्य पर्ने सो कोकिन फेला परेको जनाएको छ।

यस घटना सम्बन्धमा चार जना अस्ट्रेलियाली, दुई जना क्यानाडाली र एक जना बेलायतीलाई पक्राउ गरिएको जनाइएको छ। प्रहरीले तिनीहरूको साथबाट ५ लाख ८० हजार अस्ट्रेलियाली डलर पनि बरामद भएको जनाएको छ।

अस्ट्रेलियाली संघीय प्रहरी आयुक्त जोह्न बेभ्रिजले यस अपरेसनले लागूऔषध तस्करहरू पहिलेको तुलनामा निकै परिष्कृत भइसकेको पुष्टि गरेको बताएका छन्। उनले शुक्रबार तिनीहरूले आफ्ना गतिविधिहरू अघि बढाउनुअघि प्रहरी अनुसन्धानकर्ताहरूको उपस्थिति र योजनाबारे जासुसी गर्न ड्रोन विमानहरू प्रयोग गर्ने गरेको जानकारी दिएका छन्।

साथै उनले प्रहरी बलले तिनीहरूको ड्रोन अभियानसमेत असफल पार्न सकेकामा प्रशंसा गरेका छन्। चीनको सांघाईबाट आएको उक्त कार्गो जहाजमा कुल ९२ किलो ग्राम कोकिन फेला परेको हो। पक्राउ परेकाहरू २१ देखि ३३ वर्ष उमेरबीचका रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्