रुकुममा फेरि माओवादीले बढार्यो



धनवीर दाहाल, रुकुम
रुकुम यस्तो जिल्ला हो, जुन जिल्लामा तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलो पटक समानान्तर सरकारको घोषणा गरेको थियो। रुकुमको आठबीसकोट प्रहरी चौकी आक्रमण गरी निकै चर्चा कमाएको तथा दुई दुई पटक खारामा आर्मीको ब्यारेकमा आक्रमण भएको घटनाले अझैसम्म पनि चर्चा पाएको रुकुम जिल्लामा माओवादी फुटको कुनै असर परेन।

माओवादी विभाजन भएर अन्य जिल्लामा क्षति बेहोरेको भए पनि रुकुममा त्यसको असर पर्न सकेन। नयाँ संविधान निर्माण भइसकेपछि रुकुम जिल्ला दुई भागमा विभाजन भएर पनि अर्काे चर्चा बटुलेको छ। त्यति मात्र होइन धेरै माओवादी मन्त्री पनि रुकुमबाटै भइरहेका छन्।

यसपटक गृह मन्त्रीको जिल्ला पनि रुकुम हो। सबैको चासो रुकुममा थियो। सबैले चासो लिएकोे रुकुममा माओवादी केन्द्रले आफ्नो आधार क्षेत्र जोगाएरै छोडेको छ। दुई चरणमा सम्पन्न रुकुमको स्थानीय तहको निवार्चनमा माओवादी केन्द्रले नै विजय हासिल गरेको छ।

पहिलो चरणमा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह र दोस्रोचरणमा ३ गाउँपालिका गरी जम्मा ९ स्थानीय तहमा माओवादीले विजय हासिल गरेको छ।

यद्यपि पूर्वी रुकुममा कुनै बेला गाउँ पस्न धौ धौ हुने कांग्रेस–एमालेले पनि मत राम्रै ल्याएका छन्।

नेकपा एमाले पूर्वी रुकुममा दोस्रो स्थान हासिल गर्न सफल भएको छ। पूर्वी रुकुमका ३ वटै गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ। सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार कुमारी बरालले ३ हजार २ सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दलाल शर्माले २ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएको छ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गोवद्र्धन बुढाले ३ हजार २ सय २६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्षिराम घर्तीले २ हजार १ सय ६७ मत प्राप्त गर्नुभएको छ। ८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा २ वटामा नेकपा एमालेले विजय प्राप्त गरेको छ भने बाँकी ६ वटा वडामा माओवादी केन्द्र विजय भएको छ। वडा नं ६ मा नेकपा एमालेका पूर्णजंग मल्ललाई १ मतले पछि पार्दै माओवादी केन्द्रका सुधन रेग्मी विजयी भएका छन्।

भूमे गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार रामसुर बुढाले ३ हजार ४ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गञ्जसिंह बुढाले १ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ।

यसै गरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै मनकुमारी बिष्टले ३ हजार ४ सय ९२ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमला बुढाले १ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ। ९ वटा वडा रहेको भूमे गाउँपालिकामा वडा नं ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने अरु ८ वडामा माओवादी केन्द्रकै प्यानल विजयी भएको छ।

यसै गरी पुथाउत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षका उम्मेदवार ओमप्रसाद घर्तीले २ हजार ५ सय ५१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिउमान घर्तीले १ हजार २ सय ६३ मत ल्याउनुभएको छ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै ओमकुमारी शाही मल्लले २ हजार ६ सय ३१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सीता घतानेले १ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको छ।

१४ वटा वडा रहेको सो गाउँपालिकामा वडा नं ७ र ९ मा नेपाली कांग्रेसको प्यानल र वडा नं १० र १४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने अन्य वडामा माओवादी केन्द्र विजयी भएको छ। पूर्वी रुकुमका ३१ वडामध्ये ४ वडामा एमाले, ३ वडामा कांग्रेस, २४ वडामा माओवादी केन्द्रले विजय हासिल गरेका छन्।

पहिलो चरणमा निर्वाचन भएका ६ स्थानीय तहका ७३ वडामध्ये ५८ वडा माओवादी केन्द्रले जितेको छ भने १३ नेपाली कांग्रेसले र २ वडा नेकपा एमालेले जितेको थियो।

 

ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

 

प्रतिक्रिया दिनुहोस्