गलत नजिर नबसोस्



 

स्थानीय निकायको दोस्रो चरणको निर्वाचन एकाध घटनाबाहेक अपेक्षाकृत सुरक्षितरुपमा सम्पन्न भएको छ। दाङको तुलसीपुर–३ स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी मतदान भइरहेको समयमा अज्ञात व्यक्तिद्वारा फालिएको बम सुरक्षामा खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाले समाएर मतदान केन्द्रबाहिर फाल्न सफल भए। आफ्नो ज्यानको परवाह नगरी मतदानस्थलका जनता र मतपेटिकाको रक्षार्थ उनले गरेको यो साहसको कदर अहिले सबैतिरबाट भएको छ।

तर यता रोल्पाको जनता आधारभूत विद्यालय, धवाङमा भएको निर्वाचनमा भने १५० वटा मतपत्र खसिसकेपछि अज्ञात समूहले मतपेटिकामा आगो लगाइदिएको समाचार छ। १५ वटा मतपेटिका जलेकाले तत्कालका लागि मतदान स्थगित भएको जनाइएको छ। सुरक्षा घेराभित्र, त्यो पनि एक–एक जना गरेर मतदाता मात्र मत खसाल्न जाने गरी सुरक्षा व्यवस्था गरिएको ठाउँमा कसरी अज्ञात समूहले भित्र गएर आगो लगाउन सक्छ ? प्रश्न गम्भीर छ। आगो लगाउन जाने व्यक्तिहरु जादुद्वारा अदृश्य भएका त थिएनन् होला नि। यहाँ भने सुरक्षा व्यवस्था कमजोर भएको मान्नै पर्छ।

उता पहिलो चरणमा भएको निर्वाचनलाई हेर्ने हो भने पनि भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा केही मतपत्र च्यातियो। निर्वाचन आयोगबाट त्यहाँको १९ नं. वडामा पुनः मतदान गर्ने निर्णय भयो। तर निर्वाचन आयोगको यो निर्णय आलोचनामुक्त हुन सकेन। मतपत्र एमालेले दाबी गरेझैँ माओवादी केन्द्रले योजनाबद्ध ढंगले च्यातेको हो कि माओवादीले दाबी गरेझैँ एमालेले च्यात्न खोज्दा माओवादीले बचाउने क्रममा च्यातिन पुगको हो, त्यो कुरा त प्रत्यक्षदर्शी कसैले निष्पक्ष र इमानदार भएर बोलिदिए खुल्ने कुरा हो। तर अहिले यो प्रसंगलाई अदालतमा पुर्याइएको छ।
मतदानस्थलमा बम फाल्ने, आगो लगाउने, मतपत्र च्यात्ने वा कुनै पनि अप्रिय घटना गराउने जोसुकै भए पनि तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्ने हो भने यस्ता कार्य गर्ने दुस्साहस कसैले गर्न सक्दैन। तर अहिले यस्ता कार्यले समग्रमा लोकतान्त्रिक मूल्य मान्यतालाई नै चुनौती थपिरहेको देखिन्छ।

मतदानस्थलमा बम फाल्ने, आतंक मच्चाउने, मतपत्र च्यात्नेलगायतका निर्वाचनसँग सम्बन्धित गम्भीर अपराधलाई रोक्न आगामी दिनमा राज्य र निर्वाचन आयोगले विशेष सजगता अपनाउनै पर्छ। यसका लागि कानुन बाधक छ भने कानुन संशोधन गर्न पछि पर्नुहुँदैन। तुलसीपुरमा बम समातेर मतदान केन्द्र बाहिर फाली जनता र मतपेटिका जोगाउने हवल्दार रानाजस्तालाई पुरस्कृत गर्ने अनि निर्वाचनमा आतंक मच्चाउनेलाई चाहिँ कडा कारबाही गर्ने परिपाटी बसाउनै पर्छ। कानुनी कमजोरीको फाइदा उठाएर निर्वाचन सन्दर्भमा गलत नजिर बसाल्ने काम कसैबाट पनि नहोस्।

प्रतिक्रिया दिनुहोस्