जनप्रतिनिधिहरु हो जनताको काममा ध्यान देऊ



 

स्थानीय निर्वाचनमा जनताको प्रतिनिधि बनेर आएका प्रतिनिधिसँग हाम्रो ठूलो अपेक्षा छ। हामीले हाम्रो ठाउँको उचित ढंगले विकास गर्न तपाईंहरुलाई भोट दिएर जिताएका छौं। तपाईंहरु विलासिता र सामन्तीको पारा देखाएर नआउनुहुन हामी अनुरोध गर्दछौं। तपाईंहरु स्थानीय निर्वाचनमा भोट माग्न आउँदा जुन किसिमले काम गर्ने आश्वासन दिनुभएको थियो त्यही अनुसार काम गरेमा हामी तपाईंहरुलाई फेरि जिताउनेछौं। नत्र तपाईंलाई सडकमा ल्याउने तागत राखेका हामीले अर्को निर्वाचन कुरेर बस्नेछौं। अनि तपाईंलाई त्यहीँबाट पछार्नेछौं।

त्यसकारण भावी दिन सम्झेर पनि जनताका लागि काम गरिदिनुहोला भन्न चाहन्छु। स्थानीय निकायमा जनप्रतिनिधि भएपछि जनताको काममा ध्यान दिन पनि म आग्रह गर्दछु। अवसरवादीको कुरामा लाग्नुहुँदैन, जनपक्षीय काम गर्न पनि म आग्रह गर्दछु।

– मनोज वली, स्याङ्जा

अनलाइन मिडिया नियन्त्रणमा किन ढिलाइ ?

छ्याप्छ्याप्ती खुलेका अनलाइनलाई सरकारले तह लगाउन जरुरी छ। मनलाग्दीरुपमा कपी पेस्ट गरेर समाचार छाप्दा हामी अन्यौलमा परेका छौं। नयाँ अपडेट दिने नाउँमा कोठामा बसेर मनलाग्दीरुपमा समाचार प्रकाशन हुँदा हामीले राम्रो रुपमा सत्यतथ्य समाचार दिने अनलाइनलाई समेत शंका गर्नुपर्ने अवस्था आएको छ। मिडियाले जनतालाई सूचनासँगै सत्यतथ्य समाचार दिन जरुरी छ। प्रतिस्पर्धाको होडबाजीमा यसो गर्दा हामीलाई आमसञ्चारमाध्यममाथिको विश्वसनीयतामा शंका उठ्ने भएकाले यसरी पोस्ट नगरिदिनुहुन म अनुरोध गर्छु।

यस विषयमा सरकारले छिट्टै कानुनीरुपमै त्यस्ता मिडियालाई तह लगाउन जरुरी देखेको छु। बरु ढिला दिने तर सत्यतथ्य सूचना दिने गरेमा हामी हाम्रो सत्य सूचनाको हकबाट वञ्चित हुने थिएनौं। यो विषयमा गम्भीर हुन म सरकारलाई आग्रह गर्दछु। पार्टी निकट व्यक्तिहरुले खोलेका अनलाइनले पनि मनलाग्दी लेखेको देखिएको छ। यो विषयमा प्रेस काउन्सिलले समेत ध्यान दिन जरुरी छ। सूचना विभागले पनि निरन्तररुपमा यो विषयमा आवाज उठाएर कुनै टुंगो लगाइहाल्नुपर्ने अवस्था छ। यो निकै गम्भीर कुरो भएकाले सबैको ध्यान जाओस् भन्न चाहन्छु।

– सुदीप आचार्य, दाङ

राजपा, अब त चुप लाग
नेपाली जनताको चाहना निर्वाचन भएको कुरा त दुईवटा निर्वाचनबाट प्रस्ट भइसकेको छ। अब पनि हिंसात्मक काम गरेमा राजपा भन्ने पार्टी एकादेशको कथा हुनेछ। त्यसकारण राजपाले अब शान्तिपूर्णरुपमा जनताको मतको कदर गर्ने र २ नम्बर प्रदेशमा चुनाव गर्न दिएर त्यहाँको जनप्रतिनिधिलाई काम गर्ने वातावरण बनाएर सहयोग गरिदिनुपर्छ। यस विषयमा राजपा गम्भीर हुन पर्छ। हामी सबै नेपालीले जनप्रतिनिधि चाहेको बेला २⁄४ जना उद्दण्डकारीले २ नम्बर प्रदेशको चुनाव गर्न नदिएर षड्यन्त्र गरिए सहनेवाला छैनौं। हाम्रो अधिकार सुनिश्चित गर्न सरकार पनि गम्भीर होस्।

– सरिता यादव, महोत्तरी

नतिजा किन खस्कियो ?

प्राविधिक धारबाट एसईई दिएका विद्यार्र्थीको सिकाइ गतवर्षको भन्दा खस्किएको पाइएको छ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको यसपालाका नतिजामा गतवर्षको भन्दा झन्डै ५० प्रतिशत कमजोर देखिएको छ। राज्यको प्राथमिकतामा परेको प्राविधिक शिक्षामा लगानीअनुसारको नतिजा नदेखिनु साह्रै लाजमर्दो विषय हो। ०७१ देखि शुरु भएको प्राविधिक धारको एसएलसीमा सुधार आउने विश्वास थियो तर यो पनि अन्य परीक्षासरह नै भएको छ। अझ भन्दा यो झन् खस्किएको छ।

यस वर्ष पनि ९९ वटा विद्यालय प्राविधिक धारबाट एसईईमा सहभागी थिए। ०७१ मा प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीबाट ग्रेडिङको नतिजा सार्वजनिक गर्न शुरु भएको हो। पहिलो वर्ष विद्यार्थीको मूल्यांकन ग्रेडिङ ९ ए प्लस, ए, बी, सी, डी, ई, ० बाट शुरु भएको थियो। गतवर्षदेखि विषयगत मात्रै ग्रेडिङ र विद्यार्थीको मूल्याङ्कनमा तल खस्किएको छ। शिक्षा मन्त्रालयले पनि नतिजा खस्किएको स्वीकार गर्दै सुधारको पद्धति अवलम्बन गर्ने जनाएको छ, तर कस्ता कार्यक्रमले सुधार्ने विषयमा भने केही बताएको छैन।

नेपालमा शिक्षाको यो हविगत हुँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ। प्राविधिक विषय पढाउने शिक्षकलाई विद्यार्थीको मनोभावना बुझ्ने पेडागोजिकल नलेज आवश्यक छ तर त्यो अहिलेका शिक्षकमा खासै देखिएको छैन। पाठ्यक्रममा कति पढाउनुपर्ने हो ? स्पष्ट नहुनु अर्को पनि कारण हो। त्यस्तै विद्यालय व्यवस्थापन र प्रधानाध्यापकले शिक्षकको भरमा मात्रै छाड्दा पनि नतिजा कमजोर भएको देखिन्छ। विद्यार्थीको समस्या के छ ? पाठ्यक्रममा के व्यवस्था छ ? शिक्षकले कसरी पढाइरहेको छ ? व्यवस्थापन पक्षबाट खासै हेरिएजस्तो पनि मलाई लागेन। शिक्षकको भरमा मात्रै छाड्दा पनि यो अवस्था आएको जस्तो लागेको छ। यो विषयमा सम्बद्ध निकायको ध्यान जाओस्।
– सरोज कार्की, बनेपा, काभ्रे

म्याद नाघेका खाद्य सामग्री

पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा उद्योगहरूले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरू सप्लाइ गर्दै आएको मैले पाएँ। एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरू त्याँ बेचिएको छ। सबैभन्दा बढी म्याद सकिएका पुष्टकारी र गुँदपाक पृथ्वी राजमार्गका विभिन्न होटलहरूमा सप्लाइ भएको देखियो।

खाना खाने र सार्वजनिक शौचालयसँगै रहेका तयारी खाद्य विक्रेताहरूले ग्राहकसँग मनपरि मूल्यसमेत लिने गरेको देखियो। यात्रु र अन्य ग्राहकलाई ठगेर महँगोमा सामान बेचेको समेत पाइएको छ। मैले त्यो सडकमा यात्रा गर्दा त्यो भेटेको हुँ। यस विषयमा प्रशासनको ध्यान जाओस।
– हरि रायमाझी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्