हेटौंडामा नयाँ प्रविधियुक्त स्वीमिङ पुल



 

हेटौंडा, (नेस)
हेटौंडा–४, कमलडाँडामा शुक्रबारबाट नयाँ प्रविधियुक्त स्वीमिङ पुलको औपचारिक उद्घाटन गरिएको छ। हेटौंडा फुटसल एन्ड स्वीमिङ सेन्टरले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन्।

हेटौंडामा सञ्चालनमा रहेका अन्य स्वीमिङ पुलभन्दा उक्त स्वीमिङ पुलमा नयाँ प्रविधि प्रयोग गरिएको फुटसल अध्यक्ष यम सिलवालले बताए। पुलमा ताजा पानी चलायमन हुने गरी इन्जिनियर टोलीबाट निर्माण गरिएको छ। स्वीमिङ पुलमा ताजा पानीका लागि फिल्टर हुने प्रविधि अपनाइएको छ।

गत वर्ष कार्य शुरू भएको फुटसल र स्वीमिङ पुल करिब सवा ३ करोड लागतमा निर्माण भएको हो। बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै पुलको व्यवस्था गरिएको छ। बालबालिकाका लागि १ सय ५० र वयस्कका लागि २ सय रुपियाँ टिकटदर कायम गरिएको छ। अग्रिम टिकट बुकिङ गर्न चाहनेका लागि एक वर्षको १२ हजार रुपियाँ लिने व्यवस्था गरिएको छ।

साँझपख स्वीमिङका लागि इभिनिङ लाइटको व्यवस्था गरिएको सेन्टरले जनाएको छ। स्वीमिङ पुलमा एक हप्तासम्मको पौडी प्रशिक्षणको व्यवस्था पनि गरिएको छ। हेटौंडाका ३ वटा विद्यालयका विद्यार्थीलाई तालिम दिइएको अध्यक्ष सिलवालले जानकारी दिए। फुटसल र स्वीमिङ पुलमा सिलवालसहित हरिकृष्ण मैनाली, विजय गिरी र रघुराम कार्कीको सहकार्य छ।

प्रतिक्रिया दिनुहोस्