खडेरी र जलवायु परिवर्तन



 

लामो समय पानी नपर्नु नै खडेरी हो। खडेरीको अर्थ सुख्खा हुनु हो। खडेरी एउटा प्राकृतिक घटना हो, जुन मौसम र उच्च चाप प्रणालीसँग सम्बन्धित छ। खडेरी बिस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ। वैज्ञानिकहरुको भनाइबमोजिम मौसम विज्ञानअनुसार वर्षा हुने स्थान र सुख्खा समयमा पानी परेन भने त्यसलाई मौसमी खडेरी भनिन्छ। जल विज्ञानअनुसार खडेरी पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा कमीलाई जनाउँछ। सतहमा तालतलैया, भूमिगत पानीलगायतको कमीका आधारमा यसको आँकलन गरिन्छ। कृषि खडेरी कुनै निश्चित ठाउँमा खास अनाजका लागि माटोमा हुने चिस्यानमा आधारित हुन्छ। खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो। जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ। यसले जल र स्थलमा अनेकौं समस्या निमत्याउँछ।

विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तन नै खडेरीको प्रमुख कारण हो। वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्यधिक हरित ग्यास उत्सर्जन आदि जलवायु परिवर्तनका कारण हुन्। नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशतभन्दा कम छ। तर नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गर्छ, तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, समयमा पानी नपर्ने, वर्षाका दर र गतिमा परिवर्तन, पानी पर्ने दिनमा कमी आदि घटनाहरु कुनै नौलो होइन। अनावृष्टिलाई नै खडेरी भन्ने गरिन्छ।

खडेरीले गर्दा कृषि उत्पादनमा कमी, खानेपानीको हाहाकार, जैविक विविधतामा ह्रास आदि असरहरु नेपालमा देखा परेका छन्। जसले गर्दा देशको आर्थिक अवस्था खस्किनु मात्रै नभई प्रतिव्यक्ति आयमा गिरावट, कुल ग्रार्हस्थ्य उत्पादनमा समेत कमी आउने गर्दछ।

जलवायु परिवर्तनका कारण नै खडेरी हुने कुरामा हामी दुईमत छैनौं। जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो। यो निरन्तर परिवर्तन भइराख्ने चक्र हो। यसलाई हामीले रोकेर राकिन्न। परिवर्तन संसारको नियम हो। परिवर्तनअनुसार हामीले जिउन सक्नुपर्दछ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ज्यादै खर्चिलो, समय बढी लाग्ने, बढी साधन–स्रोतको आवश्यकता हुन्छ। जुन हाम्रो जस्तो विकासोन्मुख गरिब देश नेपालले धान्न सक्दैन। जलवायु परिवर्तनबाट सिर्जित प्रकोप हो खडेरी। यसबाट बढी मार गरिब, किसान, महिला आदि वर्गमा पर्दछ। नेपाल जलवायु परिवर्तनको असरका हिसाबले जोखिमयुक्त देश भएकोले खडेरी नेपालको लागि अति नै संवेदनशील विषय बन्दै गएको छ। कृषिमा आधारित जीविकोपार्जन, प्रकोपपूर्व सूचना प्रणालीको अभाव, कमजोर आर्थिक स्थिति, सरकारको अस्थिरता, कमजोर वा अपर्याप्त पूर्वाधार आदि कारणले नेपाल अति नै जोखिममा परेको देश हो। त्यसकारण खडेरीबाट बच्न जलवायु परिवर्तन न्यूनीकरण गर्नुभन्दा सोबाट पर्ने असरबाट अनुकूलन हुन जरुरी छ। अनुकूलन स्थानीय स्तरमै गरिन्छ। अनुकूलन कार्यक्रम अत्यन्तै फाइदाजनक, किफायती, जनउपयोगी हुन्छ। यसले सकारात्मक असरलाई बढावा गर्दछ भने नकारात्मक असरलाई न्यूनीकरण गर्दछ। अनुकूलन कार्यक्रमहरुले तीव्रगतिमा प्रभाव पार्ने गर्दछ। यसले स्थानीय समस्याको सम्बोधन गर्ने गर्दछ। अनुकूलन हुनु एउटा कला हो, यसले आफूलाई परिवर्तित समयअनुसार बाँच्न सिकाउँछ, समस्या समाधान गर्न, प्रकोपविरुद्ध लड्न तयार गराउँछ।

अन्तमा, नखाई बाँच्न सकिँदैन। त्यसकारण हामीले खडेरीबाट लड्नै पर्दछ।

कृषिप्रधान देशको साख बचाउनै पर्छ। कृषियोग्य जमिन बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याको समाधान गर्न अनुकूलन कार्ययोजनाअनुसार अगाडि बढ्नु आजको आवश्यकता हो। पानीको मुहान सुक्ने प्रकोपबाट अनुकूलन हुन विभिन्न क्रियाकलापहरु जस्तै– वृक्षरोपण गर्ने, जोगाउने, हुर्काउने, बढ्दो तापक्रम सहन सक्ने बोटबिरुवा तथा बालीनालीको नश्ल तयार गरी खेती गर्ने, कृषि वन लगाउने, पानीको मुहान संरक्षण (इन्टेक, ट्याङ्की तथा पाइप लाइन व्यावस्थापन) गर्नु आवश्यक देखिन्छ भने कृषि उत्पादनमा⁄माटोको उर्वराशक्तिमा ह्रासजस्ता प्रकोपबाट अनुकूलन हुन सिंचाइ पोखरी निर्माण, प्लास्टिक पोखरी मर्मत, आकाशे पानी संकलन, उन्नत जातका बीउ बिजन खरिद, गोठेमल सुधार, गोठ सुधार, कम्पोस्ट मल, पशुमूत्र संकलन, स्प्रे ट्याङ्की खरिद, अगुवा कृषक विकास, कृषक पाठशाला इत्यादि क्रियाकलाप सञ्चालन गर्न जरुरी देखिन्छ। सिंचाइमा असर (खडेरी) बाट बच्न सिंचाइ पोखरी निर्माण, सिंचाइ कुलो निर्माण, आकाशे पानी संकलन गर्नेजस्ता क्रियाकलाप गर्न जोड दिनुपर्ने देखिन्छ।

यसरी खडेरीबाट सिर्जित विभिन्न प्रकोप र यसबाट उत्पन्न समस्याबाट बच्नका लागि हाम्रो जस्तो गरिब देशका जनताले अनुकूलनका लागि क्षमता अभिवृद्धि गर्दै अनुकूलन कार्ययोजनाहरु सञ्चालन गर्न अपरिहार्य देखिन्छ। तब मात्र हामी र हाम्रो देशको सामाजिक, आर्थिक विकास सम्भव छ।

– हेमचन्द्र महतो (स. वन अधिकृत)
वन विभाग, काठमाडौं

बस स्टपमा स्मार्ट स्ट्रीट साइन बोर्ड आवश्यक
उपत्यकामा बस स्टपहरुमा स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न आवश्यक छ। काठमाडौंका मुख्य बस स्टपहरुमा यात्रुलाई कहाँ जाने बस कहाँनेरबाट पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएको छ। डिजिटल स्वरुपको बस स्टप साइनबोर्ड तत्काल मुख्य बस स्टपहरुमा जडान गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो। सुन्धाराअघि बस कुरिरहेका यात्रु पेटी छाडेर रोडमै बस कहाँ जाने भन्ने सोध्न आइपुग्छन्। बसहरु पनि सडकमै यात्रु हाल्छन्। त्यहाँ धेरै यात्रु कहाँ जाने बस कहाँ रोकिन्छ भन्ने थाहा नपाएर अलमलमा हुन्छन्। यसरी यो समस्या समाधानको उपाय स्मार्ट साईनबोर्ड नै हो।

बस स्टपहरुमा यात्रुले स्पष्टरुपमा देख्ने गरी डिजिटल बोर्डहरु नराखेसम्म काठमाडौंको ट्राफिक जामको समस्या समाधान गर्न पनि गाह्रो पर्छ। बोर्ड राखेमा ट्राफिक व्यवस्थानमा पनि सहयोग पुग्छ। यस्ता बोर्डहरु राखेर ट्राफिक कारबाही चुस्त नगर्दा जहाँ मन लाग्यो त्यहीँ बस र सार्वजनिक सवारी रोकेर यात्रु हाल्ने प्रचलन पनि बढेको जस्तो मलाई लागेको छ। यात्रुहरु अलमलमा पर्दा र सडकसम्म बस खोज्दै आउँदा दुर्घटनाको पनि जोखिम बढ्छ।

त्यसकारण काठमाडौं उपत्यकामा अब स्मार्ट स्ट्रीट साइन बोर्ड राख्नुपर्ने टड्कारो आवश्यकता छ। स्मार्ट बोर्डहरु राखेर बसलाई यात्रु हाल्न र ओराल्न १⁄२ मिनेटभन्दा बढी समय रोक्नै दिन नहुने नियम बनाउनुपर्ने जस्तो मलाई लागेको छ। भित्रका यात्रु ओरालेर बाहिरका यात्रु चढाएपछि बस त्यहाँ रोकिराख्न दिनै हुँदैन। त्यसैले स्मार्ट स्ट्रीट साइन बोर्डबारे महानगरपालिकाले छिट्टै निणर्य गर्नु जरुरी छ। भर्खर आएका मेयरको यो विषयमा ध्यान जाओस्।
– अरुणकुमार मानन्धर, पुतलीसडक, काठमाडौं

प्रतिक्रिया दिनुहोस्