चिनियाँ सेनाद्वारा नयाँ पुस्ताको युद्धपोत सार्वजनिक



 

बेइजिङ, (एजेन्सी)
चीनले पहिलोपटक आफैले विकसित गरेको १० हजार टनको क्षेप्यास्त्र विनाशक बेडा सार्वजनिक गरेको छ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले उक्त बेडा बुधबार बिहान सांघाईको जियाङनान सिपयार्डमा लन्च गरिएको जनाएको छ। यो पिपुल्स लिबरेसन आर्मी नेभीको नयाँ पुस्ताको पहिलो विध्वंशक नौसैनिक बेडा हो।

‘यो सैन्य बेडा नयाँ हवाई प्रतिरक्षा, क्षेप्यास्त्र निरोध, जहाजभेदी तथा पनडुब्बी विनाशक हतियारले लैस छ।’ –सिन्ह्वाले जनाएको छ। यी क्षेप्यास्त्रहरूको विशेषता भनेको ती सबै चीनले स्वदेशमै घरमा विकसित गरेको हो।

यसको सफल प्रक्षेपणले चीनी नेभीलाई नयाँ सामरिक शक्ति प्राप्त भएको समाचारमा उल्लेख गरिएको छ। यो सैन्य बेडाको नामाकरण भएको छैन। यद्यपि यसअघिको समाचारअनुसार विश्लेषकहरूले यसलाई ०५५ गाइडेड मिसाइल विनाशक भएको बताए। यो भविष्यमा चीनको एयरक्राफ्ट क्यारियर स्ट्राइकका लागि अत्यन्त महत्त्वपूर्ण हुने जनाइएको छ। यसले चिनियाँ सेनाको जल तथा स्थल दुवैमा शक्ति वृद्धि हुने ग्लोबल टाइम्सले जनाएको छ। ०५५ डेस्ट्रोयरले पिपुल्स लिबेरेसन आर्मी धेरै स्थानमा मजबुत हुने दाबी गरिएको छ।

सैन्य विशेषज्ञ सोंग जोंगपिंगले धेरै टनको भएकोले यो फरक फरक मोर्चामा अत्यन्तै फरक भूमिकामा देखिने बताए। उनले भने– ‘सबैभन्दा महत्त्वपूर्ण के हो भने टाइप ०५५ चिनियाँ एन्टी मिसाइल सिस्टमसँग ०५२ डी विध्वंशक पनि हुनेछ।

दक्षिण चीन सागरमा जारी तनावका बीच चीन लगातार आफ्नो सैन्य शक्ति बढाउनतर्फ लागेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि दक्षिण चीन सागरमा तनाब थप बढेको छ।

अमरिकाले दक्षिण चीन सागरमा जहाजहरूको स्वतन्त्र आवागमन हुनुपर्नेमा जोड दिइरहेको छ। दुवै देश एक अर्कालाई दक्षिण चीन सागरमा सैन्य गतिविधि बढाइरहेको आरोप लगाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्