प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा मतदान जारी, सबै स्थानमा मतदाताको उत्साहजनक सहभागिता



नेपाल समाचारपत्र, काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज प्रदेश नं १, ५ र ७ मा भइरहेको छ । बिहान ७ बजेदेखि मतदान सुरू भएको छ ।

साँझ ५ बजेसम्म मतदाताले लामबद्द भएर मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् ।निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।

यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्