निर्वाचनमा त्रास नफैलाऊ



 

 

दुई दशकपछि भइरहेको स्थानीय तहको निर्वाचनमा जनता निकै उत्साहित देखिएका छन् । घरदैलोमा नै जनप्रतिनिधि पाउने भनेपछि जनता निकै आशावादी देखिएका हुन् । तीनवटा प्रदेशमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले काम थालिसकेका छन् भने तीनवटा प्रदेशमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज हुँदै छ । बाँकी प्रदेश नम्बर २ मा असोज २ गतेको लागि निर्वाचनको मिति तोकिएको छ । अहिले दोस्रो चरणको निर्वाचनमा वर्षादको प्रवाह नगरी जनता निर्वाचनमा होमिएका छन् भने राजनीतिक दलहरु पनि उत्साहका साथ जनताको मत लिने तयारीमा छन् । निर्वाचनप्रति असन्तुष्टि जनाउँदै केही दलहरुले निर्वाचन बिथोल्ने प्रयास गरे पनि यो निर्वाचन भएरै छोड्ने देखिन्छ । निर्वाचन बिथोलेर जनतालाई आतंकित बनाउने काम सरासर गलत हो ।

लोकतान्त्रिक प्रक्रियामा सबैभन्दा ठूलो अभ्यास निर्वाचन मानिन्छ । निर्वाचनमार्फत जनताको मत ल्याएर नै राजनीतिक दलहरुले अगाडि बढ्ने गर्छन् । देश र जनताका लागि राजनीति गर्ने उद्देश्य लिएका राजनीतिक दलहरु निर्वाचनमा जान डराउनुहुँदैन । अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मतदातालाई आतंकित र त्रसित बनाउन ठाउँ–ठाउँमा बम राख्ने र पड्काउने काम गरिरहेका छन् । यो जनताप्रतिको अपमान हो । कुनै राजनीतिक दलको सबैभन्दा ठूलो पुँजी जनताको मत नै हो । जनताको मतले नै राजनीतिक दलहरुलाई सानो–ठूलो बनाउने गर्छ । जनताको मतमार्फत आफ्ना एजेन्डा र उद्देश्य पूरा गर्न सकिन्छ । जायज मुद्दा र एजेन्डा स्थापित गर्न शान्तिपूर्ण बाटो एउटा मात्र विकल्प हो । जनतासमक्ष आफ्ना एजेन्डा बुझाउन नसक्ने अनि त्रास फैलाएर राजनीति गर्ने मूर्खताबाहेक केही होइन ।

राजनीतिक दलहरुको कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट गराउनु, राजमार्ग र निर्वाचनस्थलमा बम राखेर आतंक मच्चाउन खोज्नु हारको मानसिकता हो । धनगढीमा बम विस्फोट हुँदा विप्लव माओवादीका एक कार्यकर्ताको निधन भएको छ । बम विस्फोट गराएर भन्दा पनि जनताको अगाडि आफ्नो एजेन्डा राखेर जनमत लिनुपर्छ । विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले निर्वाचनलाई बिथोल्ने गरी निर्वाचनस्थल, प्रहरी चौकीनजिक बम विस्फोट गराउने उच्छृङ्खल कार्य रोक्नुपर्छ । जनताको मतको अपमान गर्ने जनताको पार्टी हुन सक्दैन । जनताको पार्टीले जनताको मत लिन डराउनुहुँदैन । त्यसैले आज भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा त्रास फैलाउने काम कसैबाट गरिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्