५ वर्षभित्र राष्ट्रिय परिचयपत्र, ट्राफिक प्रहरीले पाउँदै आएको कमिसन रोकियो



 

काठमाडौं, (नेस)
गृहमन्त्री जनार्दन शर्माले सबै नेपालीलाई पाँच वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने बताउनुभएको छ।

पासपोर्ट, नागरिकता, लाइसेन्सजस्ता परिचयपत्र एकीकृत गर्दै ‘एक व्यक्ति एक परिचयपत्र’ प्रणाली लागू गर्नका लागि पाँच वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने गरी काम अगाडि बढाएको मन्त्री शर्माले जानकारी दिनुभयो।

मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीको राशन, सिदा, नाबालक सिदा, सुत्केरी खर्च तथा दाहसंस्कार खर्च समयानुकुल बढाउँदै कैदीले समेत श्रम गर्नसक्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो।

अपराधको प्रकृति, कैदी बन्दीको अनुशासन, कैद भुक्तान अवधि आदि हेरी प्रहरी प्रशासन कै निगरानीमा कैदीहरूले तोकिएको विकास निर्माणको काम गर्न पाउने व्यवस्था मिलाउन लागेको मन्त्री शर्माले जानकारी दिनुभयो।

ट्राफिक नियम उल्लंघन गरेवापत ट्राफिक प्रहरीलाई राज्यले उपलब्ध गराउँदै आएको १५ प्रतिशत कमिसन हटाएको उहाँले घोषणा गर्नुभएको छ। उहाँले गृह प्रशासन सुधार गर्न ८२ बुदें मार्गचित्रको बारेमा समेत मन्त्री शर्माले जानकारी गराउनुभएको थियो।

उहाँले पटकपटक सरुवा र बढुवाका लागि विवादमा पर्दै आएको नेपाल प्रहरीका उच्च अधिकारीदेखि प्रहरी जवानलाई बढुवाका लागि शक्तिशाली व्यक्ति र निकायको ढोका चाहार्न बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्न आफू सक्रिय भएकाले ढोकाढोकामा नजानसमेत आग्रह गर्नुभयो।

‘बढुवा, क्षमता विकास र सरुवाका लागि समयतालिका र निश्चित मापदण्ड तयार गरी अनुमान योग्य प्रणालीको विकास गर्न आफूले गृहकार्य गरिसकेको र बढुवाको स्पष्ट नीति बनाइ पद खालि भएको एक महिनाभित्र बढुवाको प्रक्रिया अघि बढाउने व्यवस्था मिलाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो।
संयुक्त राष्ट्रसंघबाट खटिने मिसनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सहभागीता बढाउन आवश्यक पहल गर्दै मिसन पठाउने जनशक्ति छनोटका लागि पारदर्शी मापदण्ड बनाउने मन्त्री शर्माले बताउनुभयो ।

राजधानीको ठमेल, दरबारमार्ग तथा पोखराको लेकसाइडजस्ता स्थानका बजार २४ घण्टा खुल्ला गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रहरी कर्मचारीलाई ड्युटी आवरभन्दा बढी समय काममा नलगाउन आवश्यक अध्ययन गरेर निर्णयमा पुगिनेछ।’

प्रतिक्रिया दिनुहोस्