मत हाल्न जाँदा छाता चाहिने भो: पूर्वी, मध्य र पश्चिमी पहाडी भेगका धेरै स्थानमा बढी वर्षा हुने



टीका बन्धन, काठमाडौ ।
बुधवार निर्वाचन हुने अधिकांश भेगमा मौसमले साथ नदिने भएको छ । तराई बाहेक मुलुकका पूर्वी, मध्य र पश्चिमी पहाडी भेगका धेरै स्थानमा मध्यम र औषत भन्दा बढी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन सार्वजनिक गर्दै बुधवार अधिकांश भेगमा वर्षा र मौसमी प्रभाव पर्ने बताएको छ ।

निर्वाचन हुने ताप्लेजुङ, ओखलढुंगा, गुल्मी, रोल्पा, रुुकुम, प्यूठान, बाजुरा, डोटी, बझाङ, डडेलधुरा लगायतका पहाडी भेगमा भने १ सय मिलिलिटरका हाराहारीमा वर्षा हुने मौसम विभागले प्रक्षेपण गरेको छ ।

 

यस बाहेक अन्य पहाडी भेगमा पनि बुधवार र विहीवार ५० मिलिलिटरका हाराहारीमा वर्षा हुने विभागको ठहर छ । काठमाडौं र पोखरा आसपासका क्षेत्रमा पनि विगतका दिनहरु भन्दा केही वढी वर्षा हुने मौसमविद्हरुको अनुमान छ ।

विभागको वाढी पूर्वानुमान शाखाले गरेको आंकलन र प्रक्षेपण तस्वीरमा रातो र बैजनी रंग संकेत गरिएका स्थानमा औषत भन्दा बढी वर्षा हुनेछ । सोही तस्वीर अनुसार हरियो र पहेलो रंग हल्का र मध्यम स्तरको संकेत हो ।

कुनै क्षेत्रमा निरन्तर १ घन्टा आसपासमा ६० मिलिलिटर र सो भन्दा बढी वर्षा भएमा विज्ञहरु औषत भन्दा बढी वर्षाको रुपमा बुझ्ने गर्छन् । यसपटक यही सोमवारदेखि मुलुकभर मनसुन सक्रिय भएपछि पश्चिमी पहाडका केही भेगमा सोमवार राती भारी वर्षा भएको थियो । तर मौसमविद्हरुले बुधवार निरन्तर र भारी वर्षाको संभावना नरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्