निर्वाचनको सम्पूर्ण तयारी पूरा, तोकीएको अवधिभित्र मतदान केन्द्र पुग्नेले मात्रै मत हाल्न पाउने



नेपाल समाचारपत्र, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले ढुक्कसँग मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

बुधबार बिहान ७ देखि ५ बजेसम्म मतदान जारी रहने भन्दै उनले त्यस अवधिभित्र मतदान केन्द्र पुग्नेले मात्रै मत हाल्न पाउने स्पष्ट पारे । मतदानको लागि मतदाता परिचय पत्र अनिवार्य गरिएको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कसैको परिचय पत्र छुटेमा वा हराएमा फोटोसहितको अन्य प्रमाणपत्र ९राहदानी, लाइसेन्स, २०७० सालको मतदाता परिचय पत्र० देखाएर पनि भोट हाल्न पाउने उनले बताए । तर, मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।

भोलि असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । जसमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिका पर्छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् ।

यसअघि वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो । प्रदेश नम्बर २ का ८ जिल्लाको स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्