विप्लवका जिल्ला इञ्चार्ज पक्राउ



हेटौंडा (नेस) । बुधबारका लागि घोषित स्थानीय तह दोस्रो चरणको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला र सचिवालय सदस्य मजदुर नेता सोम घलान पक्राउ परेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय तह निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेकोे छ । निर्वाचनका बेला मकवानपुरमा भएको विभिन्न घटनालाई जोडेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीस्रोतले बताएको छ । पार्टीको नारायणी ब्युरो इञ्चार्ज चिरण पुनले विज्ञप्ति प्रकाशन गरी उनीहरुर्ला बिनाशर्ता अविलम्ब रिहा नगरे यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता र त्यसका ‘मतियार’ नै हुने दाबी गरेका छन् ।

ज्वाला पक्राउ भएलगत्तै नेकपाका जिल्ला सेक्रेटरी राम घलानले बिनाकारण नेता÷कार्यकर्ता प्रहरीले समातेर ‘राम्रो काम नगरेको’ प्रतिक्रिया दिएका छन् । उनले तुरन्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले देशैभर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका करिब २ सय कार्यकर्तालाई पक्राउ गरिसकेको छ । प्रहरीले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट नेता÷कार्यकर्तालाई पक्राउ गरेको हो । चुनावको मुखमा उम्मेदवारको घरलक्षित बम राख्ने, सार्वजनिक स्थानमा बिष्फोटक सामग्री राख्नेलगायत कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्