काठमाडौं महानगरपालिकाका मेयरको गतिलो काम, साझा यातायातमा बृद्ध र बालबालिकालाई भाडा नलाग्ने



नेपाल समाचारपत्र, काठमाडौँ । साझा यातायातले अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निशुल्क यात्रा गराउने भएको छ। साझाले काठमाडौँ महानगरपालिकासँग गरेको सम्झौता अनुसार अब जेष्ठ नागरिकले निशुल्क यात्रा गर्न पाउने भएका हुन्। महानगरपालिकाको १५ करोड सेयर रहेको साझाले ५ वर्ष मुनिकाबालबालिकालाई पनि निशुल्क सेवा दिने भएको छ।

 

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै उपस्थितिमा महानगरले मंगलबार एक कार्यक्रम गरी यस्तो सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौता अनुसार साझालाई नाफामूखी भन्दा पनि सेवामूखी संस्थाका रुपमा विकास गर्ने लक्ष्यसहित महानगरपालिकाले मंगलबार साझा सहकारीलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

 

सम्झौता अनुसार नै साझाले क र ख वर्गका अपाङ्गता भएका र अति गरिबीको परिचयपत्र प्राप्त गरेको नागरिकलाई पनि निशुल्क सेवा दिनुपर्ने छ।

 

‘महानगरवासीले सुरक्षित, सहज र सर्वसुलभ यातायातको अनुभूत गर्न सकून भनेर हामीले साझासँग यस्तो सम्झौता गरेका हौँ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने, ‘साझाले थप सेवाको योजना बनाएर हामी सहयोग गर्न तयार छौ तर, उहाँहरुको योजना नाफामूखी होइन सेवामूखी हुनुपर्छ।’

मेयर शाक्यले महानगरमा केबुलकार, मोनोरेल, मेट्रोरेल निर्माणका लागि प्रस्ताव आएको भन्दै सेवामूखी प्रस्तावलाई स्वीकार गर्ने जानकारी दिए । सुन्दर, सुरक्षित र जीवन्त सहर हाम्रो योजना हो,’ शाक्यले भने महानगरमा सय बढी साझा सञ्चालन गर्ने हाम्रो तयारी छ, यो सुरुवात हो ।’ उनले साझाले मात्र होइन अन्य निजी संस्थाहरुले पनि सहज र सर्वसुलभ सेवा दिन तयार भए महानगर सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्