२१ अर्ब घोटालाका नाईके अमेरिकामा, अख्तियारको फरार सूचिका लुम्बध्वजलाई पक्रेको खोई ?



नेपाल समाचारपत्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फरार सूचिमा रहेका कर फर्स्योट आयोगका पदाधिकारीमध्येका एक लुम्बध्वज महत अमेरिका पुगेको खुल्न आएको छ ।

अख्तियारले उनीसहित अर्का पदाधिकारी उमेश प्रसाद ढकाललाई पक्राउ गर्न सार्वजनिक सूचना गरेको एक साता पुगिसक्दा पनि उनीहरु सम्पर्कमा आएका छैनन् ।

 

अख्तियारले खोजिरहँदा महत अमेरिकाको टेक्सासस्थित होउस्टनमा रहेको ज्वाईछोरीको घरमा पुगेको अध्यागमन उच्च स्रोतबाट खुल्न आएको छ । उनी पक्राउ पर्ने डरले अमेरिका पुगेको बताइएको छ ।

फर्स्योट आयोग बनाएर राज्यलाई नोक्सान हुनेगरी अर्बौं रुपैयाँको राजश्व छुट दिएर अनियमितता गरेको आरोप उनीहरुमाथि रहेको छ भने सोहि प्रकरणमा अख्तियारले तत्कालिन आयोगका एक सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई पक्राउ गरिसकेको छ ।

 

अख्तियारले गत जेठ १९ गते शर्मालाई पक्राउ गरेको थियो भने महत र ढकाललाई पनि अख्तियारमा हाजिर हुन पत्र पठाएको थियो । तर, उनीहरु सम्पर्कमा नआएपछि कसैले भेटे खबर खरिदिन भन्दै सार्वजनिक सुचना नै आह्वान गरेको थियो ।

 

यसैबीच ढकालपनि देशभित्र नभएको उच्च स्रोतले बतायो । कर फर्स्योट आयोगका पदाधिकारी महत नेपाली कांग्रेस निकट र ढकाल एमाले निकट रहेको मानिन्छन् ।

कर फर्स्योटका नाममा २१ अर्ब रुपैयाँ अनियमितता गरिएको र त्यसमाथि अनुसन्धान गर्नुपर्ने महालेखा परीक्षकको ५४ औं प्रतिवेदनले उल्लेख गरेपछि अख्तियार छानविन अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्