मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म



काठमाडौँ, १४ असार । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ ।

मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि व्यवस्था गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका च्याङ्ग्रा ल्याइने सो फारम स्थापना गर्न एक हजार रोपनी जग्गाको प्रबन्ध भइसकेको छ ।

उक्त स्थानमा च्याङ्ग्रा पालनका लािग घाँसखेती तथा बस्नका लागि टहरा व्यवस्थित गरेपछि दक्ष जनशक्तिको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार राम्रो पश्मिना उत्पादनका लागि च्याङ्ग्राको छनोट तथा राम्रो उत्पादन गर्न नसक्ने ठिमाहा खालका च्याङ्ग्रा मासुका लागि प्रयोग गर्नका लागि वर्गीकरण गरिने छ ।

आगामी आवभित्र सम्पन्न गरिने उक्त आयोजनाको प्रारम्भिक अध्ययन तथा स्थानीय सरोकारवालासँग छलफल सम्पन्न भइसकेको छ । स्थानीयवासी सो आयोजना चाँडो पूरा गर्नका लागि मन्त्रालयलाई सहयोग गर्न सकारात्मक रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

करिब रु तीन करोडको लागतमा तयार हुने अनुमान गरिएको आयोजनाका लागि यस वर्ष रु एक करोड विनियोजन गरी प्रारम्भिक कार्यका लागि केही खर्च समेत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्