व्यक्तिगत काममा अल्झिने सरकारी हाकिमहरू



 

विकसित मुलुकमा प्रायः मानिस आफू बन्नुभन्दा बढी मुलुक बनाउने सोच राख्दछन्, तर हाम्रो मुलुकमा प्रायः मुलुक बनाउनेहरू खान, पिउन, कमाउन, झगडा गर्नमा नै आफ्नो समय बिताइराखेका हुन्छन्, फलस्वरूप ढिलासुस्तीमा हाम्रा दिनहरू बितिराखेका हुन्छन्। एउटा कुरा के छ भने, संसारमा रात–दिन, घाम–छाया, सुख–दुःख आदि कुरालाई प्रकृतिको देन मान्न सकिन्छ, तर हाम्रो मुलुकमा प्रजातन्त्र आएर पनि सधैँ विकास कार्यमा अड्चनहरू आइराख्नुलाई प्रकृतिको देन मान्न सकिन्न, बरु यसो हुनुमा हाम्रै कमजोरी मान्न सकिन्छ।

यहाँ हरेक पक्षहरूमा केही न केही अवगुणहरू छन्, जसले गर्दा विकासका कुरा गर्दा अरु मुलुकको दाँजोमा हामी पछि परिराखेका छौं। राजनीतिक अस्थिरता, फितलो कानुन, लोसेपन, कमिसनको खेल, कलह, खुट्टा तान्नेजस्ता प्रवृत्तिले नै हामी पछि परेका हौं। अरु त अरु, यहाँका लेखकहरू पनि गलत दिशातिर गइरहेको आभास भएको छ। यहाँका प्रायः लेखहरू राजनीति, कलह, आरोप–प्रत्यारोप एवं उद्देश्यहीन भएका हामी पाउँछौं। यहाँ सर्वसाधारण हरदिन कुनै न कुनै समस्या लिएर उकुसमुकुस भएको हामी पाउँछौं। जुन यथार्थमा भनिराख्नुपर्ने कुरा होइन। उनीहरूका कुरालाई लेखकहरूले बाहिर ल्याइदिनु पर्दैन त ?

लेखकहरू परिवर्तन हुनुपर्यो। लेखकहरूले देश हाँक्नेहरू, प्रशासनिक पक्ष, सर्वसाधारण आदिका अवगुणहरूलाई केलाउँदै उनीहरूलाई प्रेसर दिएर अघि बढ्नुपर्दछ। एक पक्षलाई मात्र दोष दिनु पनि गलत कुरा हो। हरेक पक्षले आफ्नो अवगुणलाई सच्याएर स्वभाव बदल्नु जरुरी छ।

यहाँ एउटा चित्त नबुझ्ने कुरा के छ भने, कुर्सीमा आसीन पदाधिकारीहरूलाई दैनिक सयौं व्यक्तिले आफ्ना व्यक्तिगत कामले बाधा पुर्याइरहेका हुन्छन्। अनि ती पदाधिकारीले मुलुकको पूर्वाधार र विकास कसरी गरुन् ? विडम्बना नै भन्नुपर्छ।

नेताहरू, मेडियाहरूले देशमा यी–यी कुरा बन्न लागेका छन् भनेर प्रचार गरिराखेका हुन्छन् तर यथार्थमा ती कुरा तयार हुन कैयौं वर्ष हामीले प्रतीक्षा गर्नुपरिराखेको हुन्छ। एड्भान्समा कुरा कम र काम धेरै होस् भन्ने हाम्रो चाहना हो। त्यसैले सर्वप्रथम मुलुक चलाउनेहरू बुद्धिजीवी, इमानदार र राष्ट्रको लागि कठोर हुनु जरुरी छ। प्रायः राम्रा व्यक्ति चुन्न नसक्नु नै सर्वसाधारणको कमजोरी पक्ष हो। यसको खास कारण शिक्षाको कमी, लालच, स्वार्थ आदि हुन्। कुनै पनि नेता चुनाव जितेर आएपछि उसको सोच ठूलो हुनुपर्दछ। मुलुकको लागि गुरुयोजना तयार पार्नुपर्दछ। नअल्झीकन सकारात्मक सोच लिएर मन ठूलो गरी मुलुकको लागि कार्य गर्नुपर्दछ।

सरकारी प्रशासन क्षेत्र देशको मुटु हो। यो ठाउँमा यस्ता व्यक्तिहरूको आगमन हुनुपर्दछ जो इमानदार होस्। तर यहाँ प्रायः मैले यति लगानी गरेको छु र मलाई यति फाइदा यो कार्यालयबाट हुनुपर्दछ भन्ने सोच भएका धेरै छन्। यस्ता खराब संस्कारले मुलुकको विकासमा भाँडभैलो भइराखेको छ। सर्वसाधारण, नेता, सरकारी प्रशासनसहित अखबार, मिडिया, चलचित्र सबै पक्षहरूको पनि आ–आफ्नै सकारात्मक पक्षबाहेक अवगुणहरू पनि छन् भने त्यसलाई पनि बदल्नु आवश्यक छ।

यिनै कुराहरूलाई विचार गरेर लेखकहरूले पनि राजनीतिक लेखहरूलाई मात्र महत्व नदिई कृषि, उद्योग, दु्रत मार्ग, एयरपोर्ट, कम्पोस्ट मल, रोजगार, सवारी, वधशाला, मनोरञ्जन तथा अन्य सुविधाहरूको कुरालाई लिएर सरकार तथा सम्बन्धित निकायलाई घचघच्याइराख्नु अनिवार्य छ। त्यसपछि मात्र मुलुकको विकासको गति तीव्र भई समस्याबाट निकास मिल्छ।
– रमेशकेशरी वैद्य, काठमाडौं

 

जे मन लाग्यो त्यही गर्न पाइँदैन
आठ प्रहरी र एक बालकको हत्यामा संलग्न कैलाली टीकापुर काण्डका मुख्य आरोपी रेशम चौधरीलाई क्षतिपूर्तिबापत १ करोड ७३ लाख दिने सरकारको निर्णयले उक्त घटनाका पीडितहरूको मात्रै मन दुखाएन, हामी सबैलाई आश्चर्यचकित र कानुनको शासन नै नभएको राज्यका नागरिक भएको भान गरायो। जसको कारणले टीकापुरमा त्यत्रो घटना भयो, देशकै सुरक्षामा खटिएका प्रहरीमाथि भाला रोपेर निर्मम तरिकाले हत्या गर्ने काम भयो, एउटा निर्दोष बालक जसको बाँच्न पाउने हक खोसी हत्या गरियो, आज तिनैमाथि अपराध गर्नेलाई क्षतिपूर्ति दिइनु कति सरमको कुरा हो ?

तर सरकारले यस विषयमा मुख खोल्दैन। हत्यारालाई पोस्दै हिँड्छ। हत्यारालाई उल्टो पुरस्कार दिँदै हिंडछ यो सरकार। यो देशमा लोकतन्त्र, मानवअधिकारको रक्षा भएको छैन। यहाँ कानुनी शासनको खिल्ली उडाइएको छ। एउटा अपराधी, जसलाई प्रहरीले फरारको सूचीमा राखेको छ, उसैलाई हाम्रा देशका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत गएर भेट गरेको तस्वीर सार्वजनिक हुन्छ। अपराधी फरार जनताको नजरमा मात्रै छन्। उनलाई प्रचण्डजस्ताले संरक्षण गरेका छन्। प्रहरीको वान्टेड सूचीमा रहेका उनलाई प्रहरीले अपराधीको रूपमा खोजी गरिरहेको छ भनेर बाहिर नबोले हुन्छ। प्रहरीले पनि किन कानमा तेल हालेर बसेको होला ? आफ्नै साथीको त्यो हालत गराउनेलाई पक्राउ गर्नको साटो के गर्दै छ प्रहरी ? यो विषयमा प्रहरीले एउटा फरक किसिमको अप्रेसन गरेर काम गर्नुपर्छ।

हामी कानुनको शासन चाहने मान्छे हौं। अन्याय सहन सक्दैनौं। हिजोको दिनमा राजा फाल्न गोली खाने यो ज्यान कुनै पनि अन्याय सहेर टुलुटुलु बस्दैन। नेपाली नागरिकले यस्ता भ्रष्ट र अपराधीलाई पोस्नेलाई सजाय अवश्य दिनेछन्।
– समिर सिग्देल, कैलाली

आचारसंहिता केका लागि ?
असार १४ गते हुँदै गरेको निर्वाचनमा आचार संहिता कति उल्लंघन भयो, भनेर साध्य छैन। निर्वाचनका लागि मौन अवधि शुरु भएको छ। यस अवधिमा निर्वाचन आयोग सचेत भएर आचारसंहिता उल्लंघन हुन नदिन लाग्नुपर्ने अवस्था छ। निर्वाचनका बेलामा पैसा बाँड्ने, हेलिकोप्टरमा प्रचारमा जाने, अहिलेका मन्त्री र सत्ता साझेदारलाई यसो गर्न दिनुहुँदैन। निर्वाचन आयोग निकै लाचार भएको छ। यसरी लाचार भएर निर्वाचन निष्पक्ष बनाउन सकिँदैन। आयोगका कर्मचारीले सोचून्।
– ऋचा मनिहार, उदयपुर

 

भोट कसरी हालौं ?
मैले सामान्य कखरा मात्रै जानेकी छु। मलाई धेरै पढ्न पनि आउँदैन। मैले निर्वाचनमा मत दिन जानेकी छैन। मेरो घरमा भोट हाल्ने तरिका सिकाउन मान्छेहरू आएको बेलामा म घाँसपात गर्न गएकीले उनीहरूले सिकाएको तरिका थाहा पाएकी छैन। अब मैले कसरी मतदान गर्ने भनेर कसले सिकाउँछ ?
– माधवी आचार्य, बनेपा

प्रतिक्रिया दिनुहोस्