चुनावको समयमा चोरको दाउ, मतदान अधिकृतकै घरमा चोरी



उत्तम नेपाल⁄भद्रपुर

झापामा निर्वाचनको माहोल बढिरहेको बेलामा चोरीका घटनासमेत बढ्न थालेका छन्। पछिल्लोपटक झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको चन्द्रगढी क्षेत्रमा चोरको बिगबिगी बढेको पाइएको छ। सुरक्षाको दृष्टिकोणले सुरक्षित रहेको चन्द्रगढी क्षेत्रमा केही समयदेखि चोरको निगरानी बढेको पाइएको हो।

नगरपालिकाअन्तर्गत रहेको वडा नम्बर ७, १०, ९ लगायतका स्थानहरूमा समयअनुकूल मिलाएर चोरी हुने गरेको पाइएको छ। यसैक्रममा लेखनाथचोक पश्चिम भद्रपुर ७ स्थित सडकको छेउमा रहेको रामप्रसाद पौडेलको घरमा आइतबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरन्डा कोठाको ताला फुटाएर सुटकेस, झोलालगायतका पोका घरदेखि करिब ३ सय मिटर पश्चिम कौवा खाडीको चौरमा लगेर छरपस्ट पारिएको प्रहरीको जनाएको छ। ब्यागमा रहेका कागजपत्र, कपडालगायतका सामान फालेको अवस्थामा भेटिएको शारदा पौडेलले बताइन्। पति मतदान अधिकृतको जिम्मेवारी पाएर शुक्रबारदेखि झापाको दुवागढी मतदान केन्द्रमा गएको मौका पारेर चोरी भएको उनले बताइन्। कोठामा रहेको नेपाली १२ हजार र भारतीय १ हजार रुपियाँ लगेको साथै पतिले राखेको अन्य वस्तुबारे आफूलाई थाहा नभएको उनले सुनाइन्। सामग्री चोरी भएको उज्यालो भएपछि मात्र थाहा पाएको उनको भनाइ छ। घटनापछि प्रहरीले सामानको मुचुल्का उठाई जिम्मा लगाएको छ।

लेखनाथचोकदेखि करिब ३ सय मिटरको दूरीमा चोरी भएको छ। चौकमा प्रहरी बिट राखेर २४सै घण्टा प्रहरीको सुरक्षा रहे पनि प्रहरीलाई चुनौती दिँदै चोरले सामग्री लान थालेको स्थानीय बताउँछन्। धेरै वर्षअघि गाईबस्तु चोरी हुने क्षेत्रमा केही महिनायता चौपाया छाडेर अन्य सामग्रीमा चोर लागिपरेको पाइएको छ। दुई हप्ताअघि जिल्ला प्रहरीको आसपासमा रहेको नवीन चापागाईंको घरमा दिउँसै चोरी भएको थियो। घरमा ताला लगाएर पत्नी भजनमा गएको मौका पारेर केही सुनका गर–गहना लगेको सार्वजनिक भइसकेको छ।

निर्वाचनको समयमा प्रहरीको गस्ती बाक्लो रहेको अवस्थामा सदरमुकाम आसपासमा नै चोरी भएकोमा आफू गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका एसपी शैलेश थापा क्षत्रीले बताए। घटनालाई ध्यानमा राखी थप गस्ती बढाइने एसपी थापाको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्