प्रधानसेनापतिको गर्जन ‘सेना चुप लागेर बस्दैन’



 

काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको राष्ट्रिय एकतालाई खलल पुर्याउने काम कुनै समूहबाट भए नेपाली सेना चुप लागेर नबस्ने बताउनुभएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाललाई बिखण्डन हुनबाट जोगाउन नेपाली सेनाले जस्तोसुकै बलिदान गर्नुपरे पनि पछि नहट्ने बताउनुभयो।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको तस्वीर तथा नेपालको राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएका चर्चित आरोही पेम्बा दोर्जे शेर्पालाई सोमबार राजधानीमा आयोजित सम्मान कार्यक्रममा प्रधानसेनापतिले सो कुरा बताउनुभएको हो।

रुक्माङ्गद कटवाल ट्रस्टले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा प्रधानसेनापति क्षत्रीले आरोही शेर्पालाई सम्मान गर्नुभएको थियो। प्रधानसेनापति क्षत्रीले नेपाल र नेपाली सेनाको झण्डा सगरमाथामा फहराउनु आम नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो।

पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिक सगरमाथाको चुचुरोमा राख्ने पेम्वादोर्जे शेर्पाको पहललाई आफू र ट्रस्टको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।

१६ पटक सगरमाथाको तीव्र गतिमा आरोहण गरेर गिनिजबुकमा नाम लेखाउन सफल भएका आरोही पेम्वादोर्जे शेर्पाले नेपालको राष्ट्रिय झण्डा, नेपाल एकीकरण अभियानका अभियन्ता पृथ्वीनारायण शाहको शालिक सगरमाथामा लगेर राख्ने आफ्नो योजनालाई साकार बनाइदिन नेपाली सेना तथा ट्रस्टलाई आग्रह गर्नुभयो।
आरोही शेर्पाले केही वर्षअघि सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति सगरमाथाको चुचुरोमा लगेर राखेपछि नेपाल सरकारले सगरमाथा आरोहण गर्नेले सोही मूर्तिमा बसेर खिचेको तस्वीर ल्याएपछि मात्रै सगरमाथा चढेको प्रमाणपत्र दिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्