क्षयरोग केन्द्रमा ब्रह्मलुट



 

भगवती तिमल्सिना, काठमाडौं
राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ४ वटा सुविधासम्पन्न तालिमहल हुँदाहुँदै दैनिक भ्रमण भत्ताको लोभमा उपत्यकाबाहिर धुलिखेलको महँगो होटलमा तालिमका लागि जाने गरेको पाइएको छ।

संस्थाको ढुकुटी रित्याउँदै असार मसान्त आउन लागेको अवस्थामा केन्द्रका निर्देशक डा. शरद्चन्द्र वर्मालगायत एक दर्जन उच्च पदाधिकारीहरू विगतमा जस्तै यस वर्ष पनि शनिबारदेखि धुलिखेल पुगेका छन्। ‘उहाँ ४ महिनाअघि सार्क क्षयरोग केन्द्रबाट सरुवा भएर आउनुभएको हो। उहाँ असार १५ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ’ –जाँदाजाँदै पनि वर्माले बेथितिको काम भने नछोडेको कर्मचारीहरूको गुनासो छ।

पटक–पटक एक साताको कार्यक्रम बनाउँदै धुलिखेलका महँगा रसोर्टमा एक दिनको १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस शुल्कबाहेक ५ हजार ५ सय शुल्क तिरेर ३ दिनको कार्यक्रम गरेर बजेट सक्दै गरेको बुझिएको छ। क्षयरोगको तालिमका लागि भनेर केन्द्रका निर्देशक वर्माका साथमा एक दर्जनभन्दा बढी लेखा, प्रशासनलगायत विभागीय प्रमुखहरू भेला भएर यति मोटो रकम खर्च गरी केन्द्रले वर्षमा ३० वटाभन्दा बढी गोष्ठी र तालिम गर्दै आएको केन्द्रका कर्मचारीहरू बताउँछन्। क्षयरोग केन्द्रको वार्षिक ८० करोड रुपियाँ बजेट रहेको भए पनि बजेट अभावमा केन्द्रको काम गर्न असहज भएको बताउँदै आएका निर्देशक, प्रशासक, लेखापालहरूले आफ्नै संस्थामा ४ वटा तालिम हल हुँदासमेत धुलिखेलमै तालिम गर्नुको प्रमुख कारण आर्थिक चलखेल भएको कर्मचारीहरू बताउँछन्।

यता केन्द्रमा भने क्षयरोगीहरूको स्वास्थ्य परीक्षणका लागि नभईनहुने उपकरण खरिद गर्न बजेट छैन भन्ने निर्देशकलगायतको टोली सधैं गोष्ठी सेमिनार र तालिमका नाममा बजेट सक्ने खेलमा लागेको समेत केन्द्रका असन्तुष्ट कर्मचारीहरूको आरोप रहेको छ।

धुलिखेलमा तालिम सञ्चालन गर्दा सम्बन्धित होटेलबाट समेत राम्रो कमिसन पाउनुका साथै ६ दिनको भ्रमण आदेश बनाई दैनिक भ्रमणभत्ता कुम्ल्याउने योजना बनाएका हुन्, कर्मचारीहरू बताउँछन्। केन्द्रको अवस्था यति धेरै लथालिंग भएको थाहा पाएका निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले पनि आफन्तको दबाबमा परी क्षयरोग केन्द्रलाई लुटतन्त्रको खेती गर्न छुट दिएकाले निर्देशकलगायतको टोलीले कसैलाई नटेर्ने गरेको कर्मचारीहरूको दाबी छ।

क्षयरोग केन्द्रका सवारीसाधनहरू सरकारका मन्त्रीहरूलाई दिएरै भए पनि यहाँका निर्देशकहरू आफ्नो पद जोगाउने खेलमा जुट्ने गरेको प्रथालाई पछिल्लोपटक स्वास्थ्य मन्त्रालय सम्हालेका गगन थापाले पनि साथदिएको कर्मचारीहरू बताउँछन्। युवामन्त्री थापाले आफ्नो कार्यकालमा एक पटक पनि क्षयरोग केन्द्रमा टेक्नै जानुभएन। स्वास्थ्य मन्त्रालय सम्हाले लगत्तै टीबी प्रिभिलेन्स सर्वेको बा१झ ६३८९ नम्बरको ल्यान्डकुजर गाडी स्वास्थ्य मन्त्रालयमा लगेको स्रोतको दाबी छ।

मुलुकमा क्षयरोगको अवस्था, मर्ने र स्वस्थ व्यक्तिमा सर्ने दर, निको भएकाहरूको अवस्थालगायतका बारेमा हरेक १०⁄१० वर्षमा गर्नुपर्ने क्षयरोग प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्भे) का लागि भनेर राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले खरिद गरेको करोडौं रुपियाँ पर्ने गाडीमा खिया लाग्न थालेको छ भने सर्भेकै लागि भनेर खरिद गरिएको करोडौ रुपियाँको नयाँ एक्सरे मेसिनमा मुसाले खोर बनाएको विषयमा तालिमका नाममा भत्ता पचाउन गएका उच्च तहका पदाधिकारीहरूलाई सरोकार नै नभएको कर्मचारीहरूले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्