बल्ल पाइन् डिल्लीमायाले न्याय, डीएसपी दासलाई कारबाही गर्न माग



 

नेपाल समाचारपत्र
काठमाडौं
रामेछापको लिखु गाउँपालिका–२ सैपु सिरिसेकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ। चौध वर्षीया बालिका तामाङलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका राउतलाई रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दासले कारबाही नगरी छोडेको ५ वर्षपछि पुनः पक्राउ परेका छन्। प्रहरीको मिलोमतोमा फरार अभियुक्तलाई प्रहरीले भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

तत्कालीन सैपू गाविस–१ को सिरिसेबाट २०६८ माघ ५ गते हराएकी सुन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाँटीमा बाँधेको अवस्थामा फेला परेको थियो। छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएपछि अभियुक्तसँगको मिलेमतोमा डीएसपी दासले अनुसन्धान नै नगरी राउतलाई छोडेका थिए। छोरीको बलात्कार गरेर हत्या भएपछि तामाङको परिवार नै विस्थापित बन्न पुगेको थियो। सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले डीएसपी दासकै कारण आफ्ले पाँच वर्षसम्म न्याय पाउनका लागि धनसम्पत्ति सिध्याएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अपराधीलाई संरक्षण गर्ने डीएसपी दासलाई पनि अब कारबाही हुनुपर्छ।’

फरार अभियुक्त पक्राउ हुन नसकेको र डीएसपी शर्मालाई कारबाही नभएको विषयमा यसअघि नेपाल समाचारपत्रले समाचार प्रकाशित गरको थियो। प्रहरी प्रधान कार्यालयले डीएसपी शर्मालाई विभागीय कारबाही गरेको दाबी गरे पनि आफ्नो आँखामा छारो हाल्ने काम मात्र भएको पीडित तामाङले बताउनुभयो।
प्रहरी प्रमुखका रुपमा रामेछापका पुगेका डीएसपी कुमुद ढुङ्गेलले बलात्कारको घटनामा संलग्न फरार अभियुक्तमाथि अनुसन्धान अगाडि बढाउनुभएको थियो। अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समन्वयबाट पक्राउ गर्न सफल भएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्यक्षेत्रका डीर्आजी गणेश केसीले बताउनुभयो। नेपाल प्रहरीको मध्यक्षेत्र ब्युरो, रामेछापका डीएसपी ढुङ्गेल र अपराध महाशाखासहितको टोलीले भारतबाट पछइउँदै भैरहवाबाट अभियुक्त राउतलाई नियन्त्रणमा लिएको थियो। डीआईजी केसीले राउतलाई असार ११ गते भैरहवाबाट पक्राउ परेका राउतले बयानका क्रममा सुन्तली तामाङको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको बताउनभयो।

उहाँले सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई बिनाकारबाही छाड्ने तत्कालीन डीएसपी शर्मामाथि पनि थप छानबिन हुने बताउनुभयो। पीडित तामाङले डीएसपी शर्मामाथि कारबाही भए मात्र आफ्नो छोरीको आत्माले शान्ति पाउने बताउँदै डीएसपीमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्