स्रष्टालाई सम्मान



 

काठमाडौं, (नेस)
कवि केशरी चित्तधर ह्दयको १ सय ११औं जन्मजयन्तीको अवसरमा सोमबार विभिन्न स्रष्टा तथा साहित्यिक संघसंस्थाहरूलाई सम्मान गरिएको छ। नेपाल भाषा परिषद् र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न विधामा कलम चलाउने उत्कृष्ट स्रष्टा र साहित्यिक संस्थालाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।

नेपाल भाषा परिषद्का अध्यक्ष प्राध्यापक सुवर्ण शाक्यको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले भाषा र संस्कृतिको जगेर्ना गर्न सके मात्रै मौलिकताको संरक्षण हुने र आफ्नो सांस्कृतिक परम्परा लोप नहुने बताउनुभयो।

सो अवसरमा मथुरा सायमीलाई भाषा युवा सम्मान, योगेन्द्रमान श्रेष्ठलाई ठाकुरलाल सिरपाः, रोहिणीबहादुर कायस्थलाई पूर्ण–हीरा सिरपाः नामक पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान र पुरस्कृत गरिएको थियो। यस्तै, नेवाः अमेरिकन दबुलाई चित्तधर सिरपाः पुरस्कारले पुरस्कृत गरिएको थियो। नेपाल भाषा परिषद् कवि केशरी चित्तधर ह्दयले स्थापना गर्नुभएको संस्था हो। उहाँको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष कार्यक्रम गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्