६ हजार विद्यार्थीलाई सैन्य तालिम



हेटौंडा,(नेस) ।
राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलले विद्यार्थीका लागि जुनियर तालिम सुरु गरेको छ ।

एक सय दिन चल्ने तालिमको शुभारम्भ गर्दै सुनाचुरीस्थित श्री १ नं जगदल गणका गणपति प्रमुख सेनानी रामचन्द्र थापाले विद्यार्थीलाई अनुशासन र शारीरिक फिट्नेस कायम राख्न तालिम चलाइएको बताए ।

उनले रोटरी माविबाट ३६ छात्राछात्रलाई तालिम प्रदान गरी मानसिक र शारीरिकरुपमा स्वस्थ पार्ने लक्ष्य राखिएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिकराम बानिया“ले विद्यालयमा नेपाली सेनाले कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने प्रतिवद्धता जनाए ।

राष्ट्रिय सेवा दलले ‘अनुशासन नै राष्ट्रको मूल जग हो’ भन्ने नारासहित विद्यार्थीलाई ८० दिन विद्यालयपरिसरमा तालिम प्रदान गर्नेछ भने बा“की समय मोरङमा तालिम प्रदान गरिनेछ ।

उत्कृष्ट विद्यार्थीहरुलाई वैदेशिक यात्रासमेत गराइने राष्ट्रिय सेवा दलले जनाएको छ ।

तालिमअन्तर्गत् शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो पिटी र आईकिदोको प्रशिक्षण हुनेछ भने ड्रिलअन्तर्गत् खाली हात ड्रिल, खुकुरी ड्रिल र सेरेमोनियल ड्रिल सिकाइनेछ ।

राष्ट्रिय सेवा दलले आर्थिक वर्ष २०७४÷०७५ मा ७४ जिल्लाका १ सय ६५ विद्यालयका ६ हजार विद्यार्थीलाई यस्तो तालिम प्रदान गर्नेछ । अर्काे आर्थिक वर्षमा थप १ एकहजार ५ सय बढाएर ७ हजार ५ सय जनालाई यस्तो तालिम दिइने लक्ष्य राखिएको राष्ट्रिय सेवा दलले जनाएको छ ।

तालिम शुभारम्भ कार्यक्रममा विद्यार्थी, अभिभावकहरु, शिक्षक, मनहरी युवा क्लब अध्यक्ष सगुन स्यांतान र मनहरी एफएमका स्टेसन म्यानेजर शिवकुमार काशी, विद्यालय व्यवस्थापन समिति सदस्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्