ट्यांकरमा आगो लाग्दा एक सय चालिसको मृत्यु



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानी शहर अहमदपुर इस्ट नजिक आइतबार एउटा पेट्रोल टैंकर मा अचानक आगलागि हुँदा कम्तिमा १ सय ४० व्यक्तिको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्। पल्टिएको टैंकरबाट चुहिँदै गरेको गरेको पेट्रोल संकलन गर्न भिड जम्मा भएको समय आगलागी भएको थियो। आगोको चेपेटामा परेका दर्जनौं व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ।

बाटोको मोड काट्ने क्रममा उक्त टैंकरको टायर पड्किएको जस्तो देखिन्छ। त्यसपछि कसैले खाइरहेको चुरोटको ठुटोका कारण आगो सल्केको हुनुपर्ने अनुमान गरिएको छ। जाम साजिद नामक एकजना स्थानीय व्यक्तिले भनेका छन्, ‘एक जना बटवाले चुरोट सल्काउन लाइटर बाल्दा उक्त घटना घटेको हो। शुरुमा सामान्य आगो लागेकोमा तत्कालै त्यसले विकराल रुप धारण गरेको थियो।’

प्रधानमन्त्री मुहम्मद नवाज सरिफले यस दुर्घटनाको कारण आफ्नो लन्डन भ्रमण छोट्याएर स्वदेश फर्केको पाकिस्तानी सरकारी समाचार निकाय एपीपीले जनाएको छ। समयमै मर्मत संभार नहुने भएकाले पाकिस्तानको सडकमा निकै ैसमस्या देखिएका छन्। सैनिक प्रवक्ता मेजर जनरल आसिफ घफुरले घाइतेहरूलाई अस्पताल लान सैनिक हेलिकोप्टरहरू परिचालन गरिएको जानकारी दिएका छन्।

पाकिस्तानी सञ्चार माध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा घटनास्थलमा जलेका शव र सवारी साधनहरू छरपष्ट देखिन्छन्। घाइतेमध्ये धेरैको स्थिति चिन्ताजनक भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। पाकिस्तानी अखबार डनले यस घटनामा कम्तिमा छ वटा कार र बाह«वटा मोटरसाइकल जलेर ध्वस्त भएको जनाएको छ।

शवहरू नराम्ररी जलेकाले डीएनए परीक्षणपछि मात्र मृतकको शनाखत हुनसक्ने प्रहरीले बताएको छ। कराँचीबाट लाहोरतर्फ आइरहेको उक्त टैंकरमा २५ हजार लिटर पेट्रोल भएको प्रहरी सूत्रले जनाएको छ। पंजाबको बाहावालपुर जिल्लाको अहमेदपुर इस्टदेखि करिब ८ किमि टाढाको काची पुल क्षेत्रको सडकमा चिप्लेर सो टैंकर पल्टिएको थियो। ट्राफिक प्रहरीको हस्तक्षेप बाबजुद महिला तथा बालबालिकासमेत पोखिएको पेट्रोल संकलनमा लागि परेका थिए।

प्रतिक्रिया दिनुहोस्