चुनावबारे के भन्छन् कलाकार !



 

रश्मी थापा

देश अहिले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा होमिएको छ। पहिलो चरणमा हुने नसकेका क्षेत्रमा भोलि बुधबार यो निर्वाचन हुँदै छ। दोस्रो चरणको निर्वाचनमा एकातिर जनता र कतिपय मधेसी दलहरू उत्साहपूर्वक लागिपरेका छन् भने अर्कातिर राजपाले यो निर्वाचनलाई लिएर विरोध र आन्दोलन गरिरहेको छ। यस अवस्थामा कसरी निर्वाचन सम्पन्न होला ? यसबारे कलाकर्मीहरू के भन्छन् ?

 

असहमतिले चुनाव रोकिँदैनः हरिहर शर्मा
दोस्रो चरणको स्थानीय निकाय निर्वाचनमा पनि जनताको सहभागिता त उत्साहजनक देखिन्छ। सबै दलहरू निर्वाचनलाई लिएर उत्साहित भएको बेला राजपा भने असहमत देखिएको छ। यसले निर्वाचनलाई कुनै असर गर्दैन। राजपा असहमत हुनु पनि स्वभाविक नै हो। किनभने प्रजातन्त्रमा सहमत र असहमत हुन पाइन्छ। यत्रो समयपछि हुन लागिरहेको चुनव केही दलको असहमतिले रोकिनेवाला छैन। चुनाव हुन्छ।

चुनावमा सरिक भएर बाटो खोल्नुपर्छः मिथिला शर्मा
चुनाव अनिवार्यरूपमा हुनुपर्छ। चुनाव नै देशलाई परिकवर्तन गर्ने माध्यम हो। सबै मधेसी दलले ठूल्ठूला कुरा गर्नु भन्दा पनि स–साना कुरामा ध्यान दिएर चुनावमा सहभागी हुनुपर्छ। २० वर्षपछि हुन लागेको चुनावलाई लिएर केही दलले असहमति जनाउनु अवश्य पनि दुःखको कुरा हो। सबै मिलेर आफ्ना कुराहरू अगाडि ल्याउनुपर्छ। असहमत मधेसी दलले पनि चुनावमा भाग लिएर देश विकास हुने बाटो खुलाउनुपर्छ। जनताले चाहेको भनेको देशको विकास र शान्ति नै हो। त्यस कारण यो चुनाव राम्रोसँग सम्पन्न हुन्छ। पहिलो चरणको चुनाव पनि सम्पन्न भएको हो। सानातिना विरोधका घटनाहरू होलान्, तर पनि चुनाव हुन्छ भन्ने आशा छ।

जनताले कति दिन साथ देलान् र ? : केशव भट्टराई
२० वर्षपछि देशमा चुनाव हुन लागेको छ। यसलाई लिएर जनताहरू निकै उत्साहित छन्। जनताहरू सहभागी भएको चुनावलाई लिएर राजपाले पनि स्वीकार्नुपर्छ। आज सरकारसँग सहमति गर्ने फेरी भोलि नगर्ने जस्तो रबैया गर्यो भने त जनताले पनि कति दिन साथ देलान् र ? राजपाको कारणले चुनावलाई असर पर्दैन। तर, चुनावमा भाग लिएर राजपा उदहारणको रूपमा प्रस्तुत हुनुपर्छ। राजपाकै कारण चुनाव बिथोलिन्छ जस्तो मलाई लाग्दैन। चुनाव हुन्छ।

चुनावमा भाग लिन किन डराएको ? निखिल उप्रेती
म यो चुनाव राम्रो ढंगले होस् भन्ने अपेक्षा गर्छ‘। तर, अहिले जुन राजनीति देशमा भइरहेको छ, त्यो जोकर टाइपको जस्तो लाग्छ। यिनीहरूको जोकर टाइपको राजनीतिले देश र जनतालाई भने निकै गाह्रो भइरहेको छ। वास्तवमा निर्वाचन सार्नुपर्ने जरुरी नै थिएन। निर्वाचनको प्रिप्रियसन त सबैमा एकैचोटी गर्न सकिन्थ्यो। सबै दल जनताका लागि काम गर्छौं भनेर आएपछि निर्वाचनमा भाग लिनचाहिँ किन डराउने ? निर्वाचनको कुरा आएपछि किन फेरी संविधानको कुरा ल्याएर निर्वाचनप्रति किन आपत्ति मेरो विचारमा यो सब देशमा शान्ति नहोस् भन्नका लागि हो। यस्तो पार्टी, देश र जनताका लागि घातक हो। नेता र पार्टीले गर्दा नै देश बिग्रेको हो। जबसम्म जनताले यो कुरा बुझ्दैनन्, नेताले पनि कहिल्यै कुरा बुझ्दैनन्। कस्तो नेता र पार्टीलाई सपोर्ट गर्ने भन्ने कुरा जनताले बुझ्नुपर्छ। मतपत्र च्यातिनु पनि लाजमर्दो कुरा हो। चुनावको समयमा केही विवाद त होलान्, तर यसलाई जनता र प्रशासनले कस्तो भूमिका खेल्छन् भन्ने कुरा महत्त्वपूर्ण छ।

लोकतन्त्रमा सपोर्ट र विरोध सामान्यः सीताराम कट्टेल
सरकारले महत्त्वपूर्ण हिसाबले चुनावी प्रक्रिया अगाडि बढाइरहेको छ। यसले गर्दा पनि चुनाव सम्पन्न हुन्छ भन्ने आशा छ। चुनावलाई लिएर राजपा विरोधमा उत्रिएको छ। लोकतन्त्रमा सर्पोट र विरोध हुनु सामान्य कुरा हो। तर पनि सरकारले सबै दललाई मिलाएर अघि बढे राम्रो हुन्छ। देश विकास हुनुपर्छ भन्ने कुरालाई त हामीले पनि अभियानको रूपमा लिएर हिँडेका छौं। त्यसैले चुनाव हुन लागेको कुरालाई पनि हामीले सकरात्मकरूपमा लिएका छौं। सबै दल र जनता मिलेर चुनावमा सहभागी हुनुपर्छ। यस्तो अवस्थामा आफ्ना विभिन्न एजेन्डालाई लिएर चुनाव रोक्नुहुँदैन। हामी त चुनाव राम्रोरूपमा सम्पन्न होस् भन्ने कामना गर्ने हो। चुनाव हुन्छ÷हुँदैन या कस्तोरूपमा सम्पन्न हुन्छ भन्ने कुरा त सरकारलाई मात्र थाहा छ।

राजपा भूमरीमा परेको छः मदनदास श्रेष्ठ
मलाई त निर्वाचन सहजरूपले हुन्छ जस्तो लाग्छ। विरोधमा उत्रिएको राजपाका नेताहरू पनि स्वतन्त्ररूपमा चुनावमा सहभागी हुनलागेका छन्। पार्टीले मात्र आन्दोलनको घोषणा गरी हालियो, फिर्ता लिन पनि मिलेन भन्ने हिसाबले चुनावमा सहभागी नभएको हो। यसरी हेर्दा राजपा ठूलो राजनीतिक भूमरीमा परेको छ। २० वर्षपछि हुनलागेको चुनावमा सबै दल मिलेर सहभागी हुनुपर्छ। दलहरूको असहमतिका कारण नै देश असहज परिस्थितिमा गएको हो। यस्तो अवस्थामा देश चल्न गाह्रो हुन्छ। आम जनताले वर्षौंदेखि निकै दुःख झेलिरहेका छन्। यी दुःखबाट निकासा पाउनका लागि पनि चुनाव हुनुपर्छ। चुनाव भएमात्र देश विकासको ढोका खुल्छ।

मधेसीको मागलाई संविधान बनाउने क्रममा नै किन सिरियसली लिइएन ? सरोज खनाल
अचम्म लाग्छ कि सराकारले मधेसी दलको मागलाई संविधान बनाउने क्रममा नै किन सिरियसली लिएन ? किन निर्वाचन एकै चरणमा सम्पन्न हुन सकेन ? अझ अब त तीन चरणमा जाने कुरा भइरहेको छ। यो हुनुभनेको पूरा देशलाई नै घाटा हो। राजपालाई पनि आफ्नो माग सही हो र आफू ठीक छु भन्ने लागेको होला।

उनीहरूको समस्यालाई सम्बोधन गरेर सबै निर्वाचनमा भाग लिनसक्ने स्थिति सरकारले बनाउनुपथ्र्यो। अन्य मधेसी दलहरू उत्साहपूर्णरूपले चुनावमा सहभागी भइरहेका छन्। मेरो विचारमा अन्य मधेसी दल र राजपाको माग उस्तै–उस्तै थियो। तर, एउटा सहमतिमा आउँदा अर्को असहमतिमा जाने, घरी–घरी निहुँ खोज्ने काम कुनै पनि दलले गर्नुभएन। नेपालमा ०४६ सालदेखि विभिन्न तन्त्रहरू आए। १७ हजार मानिसले ज्यान गुमाए सबै। यही चुनावका लागि नै हो भनेपछि चुनाव आउने बेलामा चाहिँ चुनाव नै हुन नसक्ने वातावरण निर्माण गर्नु पक्कै पनि राम्रँे होइन। हामी सर्वसाधारण जनता कहिल्यै पनि सिंहदरबारसम्म पुग्न सक्दैनौं। तर, सिंहदरबारका मानिसहरूलाई गाउँ–गाउँसम्म पुर्याउने, उनीहरूसमक्ष आफ्ना समस्या सुनाउने, आफ्नो ठाउँको विकास गर्ने र आफ््नो प्रतिनिधि छान्ने सुनौला मौका चुनाव हो। तर, यहींनिर आएर आफ्नो मागहरू र संविधानको कुरालाई लिएर अवरोध सिर्जना गरेर राजपाले राम्रो गरेको होइन।

किनभने अहिले चुनावमा भाग लियो भने संविधान त पछि पनि चेन्ज गर्न सकिन्छ। संविधान एउटा लिखित दस्तावेज हो, ढुंगामा लेखिएको अक्षर होइन। यो कुरालाई लिएर चुनावमा भाग लिएको भए हुन्थ्यो। यसो गर्दा देशले निकासा पाउँथ्यो। पहिलो चुनावदेखि नै माहोल बिग्रिसकेको छ। भरतपुरको काण्ड अझै पनि छ। पुनः चुनाव गर्ने वा के गर्ने भन्ने कुरा अर्को चुनाव पहिले नै घोषणा गरेको भए सजिलो हुन्थ्यो। एउटा नीति बन्थ्यो। किनभने भोलि भरतपुरमा यस्तो गर्न मिल्छ भने अन्त किन मिल्दैन भनेर फेरी यस्तै किसिमको घटना अन्त नहोला भन्न सकिन्न। हुन त नेपालमा भएका नीति नियम पनि फलो भइरहेका छैनन्। त्यसैले यो चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुनेजस्तो देखिन्न। तर, पनि चाहे मधेसी दल होस् या पहाडी या अन्य कुनै पार्टी नै किन नहोस्, सबै मिलेर शान्तिपूर्णरूपमा चुनावमा भाग लिन म उहाँहरूलाई अनुरोध गर्छु।

सरकार र दलले विवेक प्रयोग गर्नुपर्छः गौरी मल्ल
चुनावलाई त पोजेटिभली नै लिनुपर्छ। वादविवाद भन्ने कुरा त सामान्य हुन्छ नै। बहस भन्ने कुरा राजनीतिमा कहिल्यै पनि अन्त्य हुँदैन। चुनावको समयमा सबै दल सहमतिमा आउनु राम्रो हो। मधेसी दल र सरकार दुवैले एक–अर्कालाई बुझेर विवेकशीलता प्रयोग गरेर चुनावलाई प्राथमिकतामा राख्नुपर्छ। तर, यस्तो अवस्थामा चुनाव कसरी सम्पन्न होला त्यो त म भन्न सक्दिनँ। सम्बन्धित निकायहरूले सकरात्मक सोचको अभ्यासमा लाग्नुपर्यो। चुनाव हुने कुरामा पहल गर्नुपर्र्यो।

चुनाव चिन्ताको विषय बनेको छः कोमल वली
सरकारले दोस्रो चरणको चुनावमा सबै दललाई समेट्न सक्नुपथ्र्यो। २ नम्बर प्रदेशको चुनाव रोक्नै हँुदैन थियो। अन्य दलहरूले मधेसी दलको माग पूरा नगर्ने भए पहिले नै कमिटमेन्ट गर्न हुँदैन थियो। चुनावमा आन्दोलनको स्थितिमा आउनुको दुई कारणहरू छन्। पहिलो त आफू सत्ता र शक्तिमा अडिनका लागि ठूला दलहरूले साना दलहरूलाई प्रयोग गरेका छन् भने अर्को कुरा साना दलहरूलाई पनि आफूलाई ठूला दलहरूले प्रयोग गरिरहेका थिए भन्ने थाहा छ।

यस कारण दुवै खालको दलको बेइमानी रहेको छ। जनताले चुनाव चाहेका छन्। आम जनताको सपना नै चुनाव भैदिओस् भन्ने छ। चाहे ती जनता मधेसका हुन् या अन्तका। त्यस कारण पनि कुनै दलको आन्दोलनको कारण जनताको आकांक्षा रोकिनेवाला छैन। चुनाव हुन्छ, तर अहिले २ नम्बर प्रदेशलाई अल्मल्याएर चुनाव गर्नुपरेको छ। त्यसैले यो चुनाव अपुरो र अधुरो रह्यो। यस्तो चुनावले वैधानिकता र पूर्णता पाउन सक्दैन। राजपा एउटा तराईमा बलियो पकड भएको र धेरै दल मिसिएर बनेको पार्टी हो। त्यसैले सहमतिमा आउनुपथ्र्यो। चुनावमा आएको भए तराईको कुरा जायज छ कि नाजायज छ भनेर जनताले निर्णय गरेर उनीहरूलाई भोट हाल्थे। तर, त्यो अवस्था रहेन। त्यसैले यो चुनाव देश र जनताका लागि चिन्ताको विषय बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्