विवादका बावजुद चीनमा ‘डग मिट’ उत्सव शुरू



 

युलिन, (एजेन्सी)
चीनको युलिन शहरमा विवादास्पद ‘डग मिट फेस्टिवल’ शुरु भएको छ। कुकुरको मासु खाने उक्त उत्सवमाथि रोक लगाएको हल्ला चलेको भए पनि उत्सव सामान्यरूपमा शुरु भएको जनाइएको छ।

चीनको ग्वांग्सी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिस ओइरिने गर्छन्। यो वर्षको शुरुआतमा अमेरिकी अभियानकर्ताहरूले प्रशासनको तर्फबाट मासु विक्रेताहरूलाई कुकुरको मासु नबेच्नका लागि भनेको दाबी गरेका थिए।
यद्यपि स्टल लगाउनेहरूले उनीहरूलाई यस विषयमा कुनै औपचारिक सूचना नदिएको बताएका छन्। मे १५ मा सरकारी अधिकारीहरूले कुकुरको मासुमा कुनै प्रतिबन्ध नलगाइएको पुष्टि गरेका छन्।

युलिन शहरमा बुधबार मारिएका कुकुरका खुट्टा झुण्ड्याइएको देख्न सकिन्थ्यो। त्यहाँको सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको पनि देखिएको समाचारमा जनाइएको छ।

प्रहरीले मानिसहरूलाई जिउँदो कुकुर बेच्ने बचारहरूमा प्रवेश गर्न रोक लगाइरहेको एक अभियन्ताले बताए। गत वर्ष केही स्टल मालिक र कार्यकर्ताहरू बीच कुकुरलाई छुटाउने प्रयासका क्रममा हाथापाई भएको थियो। यहाँ कुकुरको मासु खाने उत्सव विगत १० वर्षदेखि शुरु भएको हो। यसबाट यो शहर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएको हो।

कुकुरको मासु खाने विषयले जनावरप्रति क्रूरतालाई लिएर र चीनमा कुकुरप्रति मानिसको बदलिँदो व्यवहारलाई लिएर विवादको रूप लिएको हो। यहाँ विक्रेताहरू र बासिन्दाहरू कुकुरलाई मानवीय तरिकाबाट मारिने गरेको दाबी गर्छन्।

उनीहरू कुकुरको मासु खानुको तुलनामा सुँगुर, बिफ वा कुखुराको खानुमा पनि कम क्रूरता नभएको तर्क राखेका छन्। चीनमा कुकुरको मासु खाने प्राचीन परम्परा रहेको छ। दक्षिण कोरिया र अन्य एसियाली देशहरूमा पनि कुकुरको मासु खान्छन्।

कुकुरको मासु खाने पक्षमा रहेकाहरूले उनीहरूको रहनसहनमा भइरहेको विदेशी हस्तक्षेपलाई रुचाएका छैनन्।

केही चिनियाँ गर्मी महिनामा कुकुरको मासु खानु लाभदायक हुने तर्क दिन्छन्। जसले कुकुरको मासु खाँदैनन् उनीहरू पनि यसलाई परम्परा भएको बताउँदै त्यसको समर्थन गर्छन्। उनीहरू कुनै जनावरको चोरी नभएसम्म वा उनीहरूलाई अमानवीय तरिकाले नमारेको हो भने यसमा कुनै आपत्ति नभएको बताउँछन्।
यद्यपि आलोचकहरूले कुकुरलाई अन्य साना शहरबाट अत्यन्त सानो खोरमा ल्याउने गरेको र उसलाई अत्यन्त क्रूरतापूर्वक मार्ने गरेको बताउँछन्। केही कार्यकर्ताले पाल्तु कुकुरको चोरी पनि हुने गरेको दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस्