उम्मेदवारहरू १८ घण्टासम्म घरदैलोमा



 

अनिल खत्री, गुल्मी
मतदानको दिन नजिकिंदै गर्दा गुल्मीका राजनीतिक दलहरू परिणाम आफ्नो पक्षमा पार्न तीब्र दौडधुपमा छन्। उम्मेदवारहरू १८ घण्टासम्म घरदैलो र प्रचारप्रसारमा छन्। मध्य असारको बेलाले मतदाता वर्षभरिका लागि मानो रोपेर मुरी उत्पादन गर्ने खेतीमा व्यस्त छन्।

नेताहरू पनि ५ वर्षका लागि राजनीतिक मानो रोप्ने प्रयासमा उत्तिकै व्यस्त छन्। मनोनयन पछि थप प्रचारप्रसारलाई प्रभावकारी र फरक–फरक तरिका अपनाएर मतदाता कहाँ पुग्ने गरेका छन्। दलहरूका लागि मनोनयनपछिको समय प्रचारप्रसारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। दलहरूले घरदैलोसँगै प्रचारप्रचारका लागि एफ एम रेडियोसँगै गितहरूमार्फत प्रचारप्रचारका तरिकाहरू अपनाएका छन्।

निर्वाचनको मिति नजिकिएसँगै यतिबेला गाउँशहरमा विभिन्न पार्टीका चुनावी गीतहरूले संगितमय बनेका छन्। दलहरूका आ–आफ्ना गीतहरू सवारी साधनमा बजाउँदै हिँड्ने गर्नाले गाउँशहर संगीतमय छन्।

गुल्मीका विभिन्न भागमा दलहरूले भोट माग्नका लागि गीत संगीतलाई नयाँ प्रचार शैलीका रुपमा ल्याएका छन्। निर्वाचनको मिति नजिकिएसँगै मौन अवधी शुरु हुन लाग्नै लाग्दा दलहरू झनै ब्यस्त छन्। दलहरूका लागि दिनमा १८ घण्टासम्म प्रचारप्रसारमा ब्यस्त छन्।

जिल्लामा कांग्रेस, एमालेको तुलनामा आफ्नो संगठन कमजोर ठानेको माओवादी केन्द्रले शुरुमा कांग्रेससँग तालमेलको प्रयास गर्यो तर सफल भएन। त्यसपछि एमालेसंग लिखित सहमति नै गरेर १० मध्ये ३ गाउँपालिकामा प्रमुख लिने गरी तालमेल गरे। एमाले कार्यकर्ताको तीव्र विरोधले सातामै सहमति तोडियो।

त्यसबाट अप्ठ्यारोमा परेको माओवादीले स्थानीय स्तरमै छलफल गरेर कांग्रेससंग २ गाउँपालिका प्रमुख र ३ मा उपप्रमुख लिएर चुनावी तालमेल गर्यो। २०७० मा एमालेले बढी मत पाएका स्थान तोकेर तालमेल भएपछि एमाले जसरी पनि तालमेल असफल पार्ने प्रयासमा छ। तालमेल जसरी पनि सफल पार्ने दाउमा रहेका कांग्रेस माओवादीले चुनावी सभा पनि संयुक्त गर्ने गरेका छन्।

निर्वाचनको शैली र प्रचारप्रसार हेर्दा राजनीतिक दलहरू २० वर्ष अघिकै स्थानीय निकायकै निर्वाचनका एजेण्डा र शैली अपनाएर अघि बढेका छन्। दलका संगठनहरूको संरचना, प्रचारप्रसारको अवस्था, आर्थिक प्रशासन कुनै पनि संरचना तहअनुसार अघि बढेका छैनन्।

प्रतिक्रिया दिनुहोस्