निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता



 

सीताराम चौधरी, चन्द्रौटा
आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्ने यहाँका राजनैतिक दलले उद्घोष गरेका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकाका राजनीतिक दलले ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका हुन्। नेकपा एमालेका निर्वाचन परिचालन कमिटी संयोजक क्षेत्रबहादुर खत्री, नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार प्रकाश पौडेल र नेपाल लोकतान्त्रिक फोरमका मेयर पदका उम्मेदवार सतिषचन्द्र गुप्तले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। राजनैतिक कार्यक्रम, चुनावी सभा, गोष्ठी, सम्मेलन, र्याली आदिमा बालबालिकालाई प्रयोग नगर्न उनीहरूले जनाएका छन्।

यस्तै बालबालिकाको अध्ययन अध्यापनमा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि किसिमको चुनावी कार्यक्रम विद्यालय हाताभित्र नगर्ने बुँदामा राजनैतिक दलहरूले सहमति जनाएका छन्। बालबालिकालाई कुनै पनि किसिमले चुनावी प्रचार सामग्रीहरू ओसारपसार गर्नु वा टाँस गर्ने नलगाइने बुँदामा उनीहरूको प्रतिबद्धता जाहेर गरेका छन्। यसै गरी बालबालिकामाथि हुन सक्ने हिंसा, दुव्र्यवहार नियन्त्रणमा दलभित्र सचेत गराइने तथा बालबालिका र विद्यालय शान्तिक्षेत्र भएको कुरालाई आत्मसात् गर्दै विद्यालय हाताभित्र प्रचार सामग्री टाँस, भित्तेलेखन, हुलदंगा जस्ता गतिविधि नगर्ने दलहरूले सरोकारवालासमक्ष प्रतिबद्धता जनाएका छन्।

यही असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा बालअधिकारको प्रत्याभूतिका लागि जिल्ला बालकल्याण समिति कपिलवस्तुले उम्मेदवार र सरोकारवालाबीच अन्तरसंवाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरेको हो। स्थानीय तहको चुनाव नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग गर्ने गरेको देखिएकाले बालबालिकालाई चुनावी सभाहरूमा प्रयोग गर्न नहुने गरी प्रतिबद्धता जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्