माहोल बनाउन ठूला नेताहरु नेपालगञ्जमा



भोट माग्दै उम्मेदवार

नेपाल समाचापत्र, बाँके । चुनावी माहोल बनाउन बाँकेमा ठूल्ठूला नेताको आगमन भएको छ । मौन अवधि नजिकिदै जादा कांग्रेस, एमाले, संघीय समाजवादी फोरमका केन्द्रीय नेताहरु नेपालगञ्जमा आएर मतदातालाई आकर्षित गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आएर गइसकेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता पूर्णबहाखुर खड्का, संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादवलगायतको टोलीले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रमहरु गरेर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

एमाले उपाध्यक्ष गौतमले शनिबार नै जिल्लाका तीन वटा चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको मनिकापुर, जानकीको बेलभार र खजुरा गाउँपालिकाको खजुरा बजारमा आयोजित चुनावी सभालाई गौतमले सम्बोधन गर्नुभयो । चुनावी सभामा गौतमले विकास गर्ने पार्टी एमाले नै भएकोमा जोड दिनुभयो ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपालगञ्ज र पश्चिम जान हिडेका नेता खड्काले चप्परगौडी र बैजनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । फोरमका केन्द्रीय नेताहरु नेपालगञ्जलाई ‘तारगेट’ गरेर गतिविधि गरिरहेका छन् ।

पार्टी र उम्मेदवारहरुले ठूला नेतालाई बोलाएर मतदातालाई आकर्षित गर्नेदेखि घरदैलो, टोलभेला र चुनावी सभाहरु गरेका छन् । चुनावी प्रचार प्रसार गर्न नपाउने दिन नजिकिदै जादा शनिबार हरेक पार्टीले ठाउँठाउँमा आ–आफ्ना गतिविधि गरेका छन् । वडावडामा घरदैलो, मोटरसाइकल ¥याली, टोलसभा र घरदैलोमा जुटेका उम्मेदवारलाई भ्याइनभ्याई रहेको छ ।

मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्र र पुरानो शहर नेपालगञ्ज उपमहानगरपालिकाको मेयर जित्नका लागि ठूला दलले सक्दो कसरत गरिरहेका छन् । उम्मेदवार र जिल्लाका नेताहरुले दौडधुप जारी गरिरहदा कहाँ, कुन टोलमा कुन नेतालाई बोलाउदा फाइदा पुग्छ भन्ने मूल्यांकन गरेर पार्टीहरुले केन्द्रीय नेतालाई बोलाएका छन् । जातीय, धार्मिक, पार्टीगत आस्थालाई हेरेर पार्टीहरुले आफू कमजोर रहेको ठाउँमा बढी फोकस गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरमले जित्ने दावी गरेको नेपालगञ्जमा सबै पार्टीले अन्तिम कसरत जारी राखेका छन् । वडा वडामा पुगेर सबै पार्टीका उम्मेदवारले मतदातालाई आश्वासन बाँड्नेदेखि आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । सबै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले नेपालगञ्जको भिडन्त अझ रोचक बनेको छ । यहाँका मुस्लिम र बनियाको मत तान्न सबै उम्मेदवारले मेहनत गरिरहेका छन् । टोल, वडामा केही ‘पावर’ भएकालाई फकाउनमा नेताहरु लागि परेका छन् ।

कोहलपुर नगरपालिका र अन्य ६ वट गाउँपालिकाको चुनावी अभियान पनि जोडतोडका साथ चलेको छ । बैशाख ३१ गतेकै तयारी गरेर चुनावी प्रचार प्रसारमा जुटेका नेता तथा उम्मेदवारहरु तेस्रो पटक सरेको चुनावमा भरपुर सक्रियता देखाएका छन् । मौन अवधि शुरु हुन लाग्दा गाउँघरमा पावर देखाउन ¥यालीहरु निकालिएका छन् । सबै गाउँपालिकामा शनिबार सबैजसो पार्टीले ¥याली निकालेका थिए । धेरै भन्दा धेरै जमात देखाउन पार्टीहरुले बडो मेहनत गरेका थिए । नेपालगञ्ज बजारमा पनि आइतबार सबैजसो पार्टीले रोडसे गर्ने तयारी गरेका छन् ।

सबै नेता तथा कार्यकर्तालाई अनिवार्य उपस्थिति हुन ह्वीप जारी गरेर पार्टीहरुले आफ्नो पावर देखाउने तयारीमा छन् । मौन अवधिमा लोभलालचमा पार्न आउन सक्नेतर्फ ध्यान दिएका सबैजसो उम्मेदवारले त्यस्तोमा नफस्न आग्रह गरिरहेका छन् । आफ्नो पल्ला भारी भएका गाउँपालिकाका उम्मेदवारहरुले आफ्नो क्षेत्रमा अर्कोलाई निगरानी गर्न युवाहरुलाई परिचालन गरेका छन् ।

एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकाको ८१ तह रहेको बाँकेमा ठूला पार्टीकै बीचमा प्रतिस्पर्धा रहेको छ । राप्रपा र फोरम पनि केही ठाउँमा प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्