कतारमा नेपाली कामदारलाई समस्या छैन ः श्रममन्त्री



काठमाडौं, (नेस)
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारले भोगिरहेको पछिल्लो घटनाक्रमका कारण अहिलेसम्म नेपाली कामदारलाई कुनै पनि प्रकारको समस्या नआएको बताउनुभएको छ। शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्नु हुँदै मन्त्री मन्सुरले कतारमा कार्यरत नेपालीलाई कुनै असर नगरेको बताउनु भएको हो।

मन्त्री मन्सुरले भन्नुभयो–‘कतारले अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको छ, चाँडै समस्या समाधान हुने कुरा बुझिएको छ। त्यहाँ रहेका नेपाली कामदारका विषयमा कुनै समस्या देखिएको छैन।’ कतारका विषयमा पछिल्ला घटनाक्रम र नेपाली कामदारको अवस्थाबारे आफूले निरन्तर रूपमा अपडेट गरिरहेको र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराएको बताउनुभयो।

रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारका विषयमा कतारका लागि नेपाली राजदूतसँग कुरा गरेको भन्दै मन्त्री मन्सुरले कतारलाई छिमेकी मुलुकले अलग्याएको विषयमा त्यहाँ रहेका नेपालीको रोजगार र पेशा व्यवसाय केही फरक नपार्ने बताउनुभयो।

इस्लामिक अतिवादी संगठनलाई सहयोग गरेको भन्दै छिमेकी देशहरुले कतारसंँगको सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसंँगै त्यहाँ रहेको कामदार र थप कामदार पठाउन श्रम स्वीकृत दिने वा नदिने भन्ने विषयमा अन्योलता देखिँदै आएको छ।

अहिले कतारका लागि नेपाली राजदूतसँग नियमित सम्पर्कमा रहेको र परराष्ट्र मन्त्रीलाई पनि यस विषयमा जानकारी गराई कामदारका विषयमा निरन्तर रूपमा अपडेट गरिरहेको बताउनुभयो।

परराष्ट्र मन्त्रालयले पनि यस विषयलाई गम्भीर रूपमा लिएको बताउनु हुँदै मन्त्री मन्सुरले जुनसुकै अवस्था निर्माण हुँदा पनि त्यसको लागि मन्त्रालय र सो मातहतका निकायहरु पूर्वतयारीका साथ बस्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्