वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध



नेपाल समाचारपत्र,काठमाडौं
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

आयोगका अनुसार निर्विरोध हुनेमा नेपाली कांग्रेस र नेकपा एमालेका १४–१४ तथा नेकपा माओवादी केन्द्रका १० जना रहेका छन्।

निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका ५ का धनञ्जय बोहोरा रहनुभएको छ। निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको आयोगले जनाएको छ।
यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन्। कुल मतदाता संख्या ६४ लाख ३२ हजार ७ सय ६५ रहेको छ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ६ हजार ७ सय १७ पर्यवेक्षकलाई अनुमति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्