ओलम्पिक डेमा विभिन्न खेल सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
ओलम्पिक डे अवसरमा नेपाल एथ्लेटिक्स संघद्वारा आयोजित एथ्लेटिक्स प्रतियोगितामा उमेश मसहार्गी र सरस्वती भट्टराई बिहीबार पहिलो भएका छन्। पुरुषमा उमेश र महिलामा सरस्वती एक माइल दूरीको प्रतिस्पर्धामा पहिलो भएका हुन्। उमेशले ४ मिनेट ३२ दशमलव ७ सेकेन्डमा पूरा गरे। ४ मिनेट ३३ दशमलव ५ सेकेन्डमा अजितकुमार यादव दोस्रो तथा ४ मिनेट ३५ दशमलव ३ सेकेन्डमा रामजी बस्नेत तेस्रो भए। सरस्वतीले निर्धारित दूरी ५ मिनेट ३६ दशमलव ९ सेकेन्डमा सकिन्। ५ मिनेट ३७ दशमलव ८ सेकेन्डसाथ सनमाया कार्की दोस्रो र ५ मिनेट ३८ दशमलव १ सेकेन्डसाथ सरिता वासी तेस्रो स्थानमा रहे।

दिलीशालाई स्वर्ण
नेपाल साम्बो फेडेरेसनले ओलम्पिक डेको अवसरमा आयोजना गरेको साम्बो प्रतियोगिताको महिला ४५ केजीमा दिलीशा छन्त्यालले बिहीबार स्वर्ण जितेकी छन्। गोंगबुमा भएको प्रतिस्पर्धामा दिलीशाले फाइनलमा रोजिना श्रेष्ठलाई पराजित गरिन्। महिलाको २५ केजीमा रोशना खड्का र ३५ केजीमा पवित्रा विष्टले पहिलो स्थान हात पारे।

पुरुषको २५ केजीमा आशिष कार्की, ३० केजीमा शिशिर विक, ३५ केजीमा सुजन खतिवडा, ४५ केजीमा पदम दमाईं, ५६ केजीमा विकल छन्त्याल, ४० केजीमा पेम्बा शेर्पा तथा खुला तौलसमूहमा अग्रिम कायतले स्वर्ण हात पारे।

दलबहादुर र विमल च्याम्पियन
नेपाल आर्मीका दलबहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसको अवसरमा आयोजित एक दिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन्। लगनखेलस्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौलसमूहमा दलबहादुरले राष्ट्रिय टिमका खेलाडी सुशील थापालाई अंकको आधारमा हराउँदै च्याम्पियन भए। पुरुषकै ५६ केजीमा विमलले झापाका युवा मुक्केवाज सुरेन्द्र राईलाई अंकका आधारमा हराए।
ओलम्पिक डेको अवसरमा बुधबार साँझ भएको पुरुषको ४९ केजी तौलसमूहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका युवा मुक्केवाज नाम्गेल शेर्पा र बोसीगाउँका प्रदीप महर्जन संयुक्तरूपमा विजेता घोषित भए। पुरुषकै ७५ केजी तौलमा आर्मीका एकबहादुर घलले काठमाडौंका विशाल श्रेष्ठलाई अंकको आधारमा हराउँदै स्वर्ण जिते। महिलातर्फ भएको एकमात्र खेलमा आर्मीकी गीता थापामगरले स्वर्ण जितिन्। गीताले ५१ केजी तौलसमूहमा राष्ट्रिय टिमकी खेलाडी माला राईलाई अंकका आधारमा पराजित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्