पूर्वसहायक मन्त्री नगरप्रमुखको उम्मेदवार



 

विनोदसिंह विष्ट, बैतडी

स्थानीय तहको चुनावका लागी असार ४ गते आइतबार मनोनयन दर्ता गरियो। हरेक दलहरुबाट सो स्थानीय तहमा जित्न सक्ने व्यक्तिलाई दलहरुले उम्मेदवार बनाएको पाइयो। यस्तै बैतडीको पाटन नगरपालिकामा पूर्वसहायक मन्त्रीसमेत रहेका केशवबहादुर चन्दलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र नं.१ बाट सांसदको चुनावमा विजयी भई तत्कालीन श्री ५ को सरकारको महिला बालबालिका तथा समाज कल्याण सहायक मन्त्री बनेका थिए।

(पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुवै क्षेत्रबाट जितेपछि त्यहाँ उप निर्वाचन भएको थियो र त्यसै निर्वाचनमा केशव चन्दले जितेका थिए)। उनलाई अहिले नेपाली कांग्रेसले नगरपालिकाको मेयर पदका लागि प्रतिस्पर्धामा उतारेको हो। नेपाली कांग्रेसले पाटन नगरपालिकामा उम्मेदवार छनोट गर्ने क्रममा १४ जनाको दाबी थियो भने सबैले अन्तिममा चन्दलाई सर्वसम्मत उम्मेदवारको रूपमा अघि सारेका हुन्। उम्मेदवार चन्द भन्छन्– ‘मैले पूरै देश परिवर्तन गर्न नसके पनि नगरपालिकामा पक्कै परिवर्तनको आभास गराउँछु, म मेयर भएँ भने भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्छु र पाटनमा विकास र सम्वृद्धिको अभियान थाल्छु।’

पण्डितले शुभ साइतअनुसार उम्मेदवारी दर्ता गराएका थिए। पूर्वसहायक मन्त्रीसमेत रहेका चन्दले पण्डितसँग साइत हेराएर असार ४ गते दिउँसो १ बजेर ३१ मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए। चन्दले आफ्नो उम्मेदवारी नगरको समग्र विकास र सम्वृद्धिका लागि भएको बताए। चन्दले आफूले मेयर भएपछि पाउने तलब भत्ता पीडित नागरिकको घाउमा मलम लगाउन प्रयोग गर्ने बताएका छन्। उनी भन्छन्– ‘हिजोका दिनमा पनि मैले समाज सेवा गरेको हुँ अब पनि सामाजिक कामहरु गर्नेछु। जनताले मलाई जिताएमा मेरो अनुभवको आधारमा काम गर्नेछु, सबै मतदातालाई भोट दिन अनुरोध गर्दै प्रचारमा हिँडेको छु।’ केशवका बाबु स्वर्गीय भानबहादुर चन्दसमेत २०२४ सालमा चुनाव जितेर तत्कालीन राजसभा सदस्य बनेका थिए। उनको राजनीतिक पेसा पुख्यौली पेसाको रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्