विश्व संगीत दिवसमा सम्मान र सांस्कृतिक कार्यक्रम



 

वर्षकै लामो दिन २१ जुनलाई सन् १९८२ बाट फ्रान्सबाट बिहानदेखि रातिसम्म सांगीतिक कार्यक्रम गरेर विश्व संगीत दिवसका रूपमा मनाउने परम्परालाई निरन्तरता दिँदै नेपालमा पनि मनाइएको छ। बुधबार विविध सांगीतिक कार्यक्रम गरेर विश्व संगीत दिवस मनाइयो।

यस अवसरमा सांस्कृतिक संस्थानको राष्ट्रिय नाचघरमा आयोजित सांगीतिक कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले शुभारम्भ गरे। सांस्कृतिक संस्थान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाली सांगीतिक संघ र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्ररको कार्यालयले संयुक्त रूपमा विश्व संगीत दिवस मनाएका हुन्। सो अवसरमा सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै उपराष्ट्रपति पुनद्वारा गीतकार डा. रामविक्रम सिजापति, संगीतकार जगतमर्दन थापा, वाद्यवादक किशोर गुरुङ, नृत्यकार हनी श्रेष्ठ, जनपक्षीय गायक जेबी टुहुरे र गायिका इन्दिरा श्रेष्ठलाई सम्मान गरियो। त्यसै गरी गायक आनन्द कार्की, धीरज राई, सीताराम पोखरेललगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्तो सम्मानले नेपाली कला र कलाकारको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकासमा टेवा पर्याउने अपेक्षा गरे।

नेपाली सेनाको सांगीतिक ब्यान्डको प्रस्तुतिसँगै आरम्भ भएको कार्यक्रम ४ घण्टासम्म चलेको थियो। त्यस अवसरमा गायक आनन्द कार्कीदेखि पप गायक धीरज राईसम्मले आफ्ना चर्चित गीत सुनाएर कार्यक्रममा दर्शकलाई नचाएका थिए। त्यसै गरी सांस्कृतिक संस्थानका कलाकारहरूले एक दर्जनभन्दा बढी लोकगीत, नृत्य र सांगीतिक धुन पस्किएका थिए। त्यसै गरी अन्तरा समूह, गुरुकुल संगीत विद्यालय, जात्रा ब्यान्डलगायत विभिन्न सांगीतिक समूहले गीतसंगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्