मतदाताहरू अलमलमा नपरून्



 

गत वैशाख ३१ मा भएको पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा बदर मतसंख्या बढी नै देखिएकाले अब हुने दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई तीव्र पार्नुपर्नेमा जोड दिइएको छ । अघिल्लो चरणमा भएको निर्वाचनमा खसेको मतको झन्डै १२ प्रतिशत मतपत्र बदर भएको अनुमान गरिएको छ । त्यसैले दोस्रो चरणको निर्वाचनमा यो संख्या घटाउने प्रतिबद्धताका साथ निर्वाचन आयोगले मतदाता शिक्षलाई तीव्रता बनाएको समाचार प्रकाशमा आएको छ । आयोगबाट भइरहेको यस कार्यको सराहना गर्नै पर्छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेपालमा बोलिने राष्ट्रभाषाहरुमध्ये १६ भाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको आयोगले जनाएको छ । साथै मतदान केन्द्रमा सक्कलै मतपत्र अवलोकन गर्न सकिने व्यवस्थासमेत मिलाइएको र विभिन्न स्थानीय भाषामा तयार गरिएका मतदाता शिक्षा सामग्रीहरुमार्फत पनि मतदाताले बुझ्न सक्ने हुँदा यसपटकको निर्वाचनमा बदर मतपत्रको संख्या घट्न सक्ने आशा गर्न सकिन्छ ।

मतपत्रको आकार निकै ठूलो भएको, सातवटै मतपत्रमा चिह्न लगाउनुपर्ने अवस्था, मतपत्र पट्याउने बारे अन्योलता, पार्टीगत चुनावी तालमेलले गर्दा उम्मेदवार नै नभएको चिह्नमा समेत छाप लगाउन सक्ने सम्भावना आदि कारणले मतदाता अलमलमा परेको अवस्था पहिलो चरणको निर्वाचनमा देखियो । छोटो समय र चुनाव हुने वा नहुनेमै अन्योलता भएकाले अघिल्लो चरणको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसकिएको सर्वविदित नै छ । यस कुरालाई निर्वाचन आयोगले पनि स्वीकारिसकेको छ । त्यसैले आगामी निर्वाचनमा मतदाता शिक्षालाई बढी नै जोड दिनुपर्ने देखिन्छ ।

मतदाता शिक्षा खाली मतदान कसरी गर्ने र दिएको मत बदर नहोस् भन्नेमा मात्र केन्द्रित हुनु भएन, मतदातालाई मैले आफ्नो अमूल्य भोट कसैलाई दिनै पर्छ भन्ने भावना जागृत गराउनु पनि मतदाता शिक्षाको उद्देश्य हुनुपर्छ । मतदाता शिक्षाले मतदातालाई हेलचेक्र्याइँ नगरी मतदान केन्द्रमा पुगेर मत हाल्न अभिप्रेरित गरोस् । दोस्रो चरणको निर्वाचन हुन अझै केही दिन बाँकी रहकाले निर्वाचन आयोगका प्रतिनिधि मात्र नभएर राजनीतिक दलका कार्यकर्ताहरुले समेत मतदाताको घर–घरमा पुगेर मतदातालाई पूर्णरुपमा बुझाउनुपर्छ, ताकि मतदाताहरु मत दिने बेलामा अलमलमा नपरुन्, उनीहरुले दिएको मत सदर होस् ।

प्रतिक्रिया दिनुहोस्