मेडिकलमा शिलबन्दीपछि औषधी पसल बन्द



नेपाल समाचारपत्र, हेटौंडा । अनुमति नलिएर सञ्चालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा शिलबन्दी गरिएको छ । अनुमतिबिना क्लिनिक सञ्चालन गरेको भन्दै आपूर्ति व्यवस्थापन विभागले दुवै मेडिकलको क्लिनिकमा बिहीबार शिलबन्दी गरेको हो ।

विभाग र महाशाखाले अनुगमन गरेको विरोधमा हेटौंडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् । संयुक्त अनुगमनका क्रममा दुःख दिइएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन टोलीले दुई मेडिकलमा शिलबन्दी गरेको थियो । अनुगमन टोलीले लाइसेन्सप्राप्त व्यक्ति फार्मेसीमा बस्नुपर्ने, दर्ता र कर प्रक्रिया पूरा गरेको हुनुपर्ने, मापदण्डअनुसार क्लिनिक सञ्चालन गर्नुपर्ने जस्ता सुझाव दिएको छ ।

विभागका शाखा अधिकृत निरोज घिमिरेको संयोजकत्वमा औषधी व्यवस्था विभागकी प्रतिनिधि मीना देउवा, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका वासु खतिवडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नासु सहदेव आचार्य तथा अन्य संस्थाका प्रतिनिधिको रोहवरमा मेडिकलहरुमा जा“चपड्ताल भएको थियो ।

शिलबन्दीस“गै अनुमतिबिना क्लिनिकका कुनै सेवा सञ्चालन नगर्न विभागले चेतावनी दिएको छ । विभागको रोहवरमा बुधबार पनि हेटौंडाका १० वटा औषधी पसल अनुगमन गरिएको थियो । अनुगमन गरिएका औषधी पसलमध्ये केहीले  औषधीको रेकर्ड नराखेको पाइएको थियो । उनीहरुलाई रेकर्ड राख्ने फरम्याट उपलब्ध गराइसकिएको छ ।

क्लिनिक दर्ताका लागि स्वास्थ्य कार्यालय मकवानपुरमा प्रक्रियामा गइसकेको अवस्थामा मेडिकलहरुलाई हतोत्साही गर्ने काम बेठीक भएको नेपाल स्वास्थ्यकर्मी महासंघ निजी विभाग केन्द्रीय संयोजक उत्सव चौलागार्इंले बताए ।

प्रतिक्रिया दिनुहोस्