उत्कृष्ट विद्यार्थी भन्छन्– सफल भएँः आदर्श



यमलाल भुसाल

सैनामैना नगरपालिका ६ कलौनी निवासी आदर्श पाण्डेले हालै प्रकाशित एसईईमा नेपालमै सर्वोत्कृष्ट अंक ल्याएका छन्। सार्वजनिक एसईई परीक्षाको नतिजाअनुसार पाण्डेले जीपीए ४ प्राप्त गरेका हुन्। ०४८९९५३ आई सिम्बोल नम्बर रहेका पाण्डेले सैनामैना ६ स्थित रामापुर रिभाईभल इंग्लिस बोर्डिङ स्कुलबाट परीक्षामा सहभागिता जनाएका हुन्।

आमा खुमा पाण्डे र बुबा खेमराज पाण्डेका जेठा छोरा आदर्श पाण्डे २०५७ साल माघ १८ गते रूपन्देहीमै जन्मेका हुन्। आदर्शको जन्म भएको २० दिनमा आमाको ग्यास्टिकको अप्रेसन गरेका कारण उनले पूरै अवधि आमाको दूध खान पाएनन्। सानैदेखि निमोनियाको समस्या रहेका आदर्शलाई लामो समयसम्म निमोनियाको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको हो। एसईई परीक्षामा सहभागिता जनाउने क्रममा पनि आदर्श बिरामी रहेका थिए। तर, १७ वर्षीय आदर्शको निरन्तरको मेहनतकै कारण उनलाई सफलता हात परेको बताउँछन्। लामो समयसम्म अध्ययनमै समर्पित हुने उनको व्यवहारले राम्रो नतिजा आएको बताएका छन्।

प्रभात आवासिय मावि मुर्गियामा ३ वर्षको उमेरमा नर्सरी कक्षामा भर्ना भएका आदर्शले एल केजीदेखि कक्षा ४ सम्म रामापुर रिभाइभलमा अध्ययन गरेका हुन्। आदर्शका बाबुले पाल्पामा शिक्षण गर्ने हँुदा कान्छो छोराको जन्म हँुदा उनको परिवार पाल्पामा बसाइँसराइ गरेको थियो। कक्षा ४ उत्तीर्ण गरी कक्षा ५ र ६ मा पाल्पा हुगीस्थित पूर्णज्योतिी इंग्लिस बोर्डिङ स्कुलमा अध्ययन गरेका हुन्।

कान्छो छोरा हुर्केसगै उनको परिवार फेरी सैनामैनामा आएर बस्न थाल्यो। जतिबेला आदर्शले कक्षा ७ मा रामापुर रिभाइभलमा भर्ना भएर अध्ययन गरेका थाले उनको आमा खुमा पाण्डेले पनि सोही विद्यालयमा अध्यापन गराउन शुरु गर्नुभयो।

बाबुआमा दुवै शिक्षक रहेकाले पनि उनी बढी नामजस्तै आदर्श विचारको समिपमा रहेका थिए। पढ्नुपर्छ, पढेरै अगाडि बढ्न सकिन्छ भन्ने आमाबाबुको भनाइ सुनिरहँदा उनलाई पढाइप्रति रुचि बढेको हो।

शिक्षित परिवारमा जन्म लिएका कारण पनि आदर्शलाई पढाइका लागि असल वातावरण बनाउन उनका आमाबाबुले सधैं चासो दिनुहुन्थ्यो। सहयोगी मिलनसार स्वभावका आदर्श विषयवस्तुको गहिराईमा पुगेर काममा समर्पित हुने गर्दछन्। एसईई परीक्षाको नतिजाअनुसार पाण्डेले जीपीए ४ प्राप्त गरे उनले अध्ययन गरेको विद्यालय रामापुर रिभाइभल इंग्लिस बोर्डिङ स्कुल, परिवार तथा नगरबासी सबै यति बेला झनै हिर्षित भएका छन्।

सज्ञमीक्षाबाटै प्रेरित भएर पढें

रटाई भन्दा पनि मैले बुझेर पढ्ने कोशिस गर्छु। शिक्षक बुबाआमा पढ् मात्रै नभनी यसरी पढ् भनी बाटो देखाउनुभयो। शिक्षकहरुले सिकाएको शैलीलाई अनुशरण गर्दा मलाई अध्ययनमा थप हौसला मिलेको हो।

गतवर्ष समीक्षा सुवेदीको जीपीए फोर आयोभन्दा मलाई अचम्म लाग्यो। ग्रेडिङ सिस्टम बुझेपछि समीक्षा दिदीको आउँछ भने मेरो किन आउन्न ? भनेर मैले जीपीए फोर ल्याएरै छाड्छु भन्ने प्रढ गरें। हरेक समय मैले पढ्दै गर्दा जीपीए फोर ल्याएरै छाड्छु भनेर पढ्थें। सामाजिक, जनसङ्ख्यालगायतका विषयमा सामान्य ज्ञानको आवश्यकता पर्ने हुँदा जसलाई पनि मैले राम्रोसँग अध्ययन गरेको थिएँ।

मलाई पढाइसँगै साहित्यमा बढी रुचि लाग्छ। गीत तथा कविता बनाउन म धेरै उत्साहित छु। अरूले गर्छन् भने मैले पनि सन्देशमूलक लेख लेखेर अरूलाई प्रेरित गर्न सक्छु। फिल्म हेर्दा यस्तो लाग्छ र साहित्यमा बढी उत्साहित हुन्छु।

मेरो नतिजाको कुरा गर्दा कक्षा ४ सम्म रहँदा म कक्षा दोस्रो हुन्थें। त्यसपछि मैलै कक्षा प्रथम हुन्छु भनेर लागें। मैले जे सोचें त्यहीअनुसार सफल भएँ। एउटा सफलतासँगै अर्को सफताको आशा गर्दै गए। कक्षा ८ मा पढ्दा म स्कुल प्रथम भए। त्यसपछि मैले त्यसमाथिको नतिजाको पर्खाइमा थिए। सोचेअनुसार सफल भएको छु।

सानैदेखिको मेरो सोच भनेको डाक्टर बन्ने हो। त्यसैले म डाक्टर बनेरै छाड्छु भनेको छु। यसमा पनि पक्कै सफल हुनेछु। आफू सक्दो प्रयास गर्न पछि पर्दिनँ तर, काम गर्दै जाँदा सबैको साथको अपेक्षा सदैव गर्दछु।

आदर्श सधैं जिज्ञासु
कृष्णप्रसाद शर्मा (पवन), प्रिन्सिपल

विद्यालयकै इतिहासमा नौलो रिजल्ट प्राप्त गरेका छौं। आदर्शले प्राप्त गरेको रिजल्टले हामीलाई अझ धेरै हौसला मिलेको छ। आदर्शको व्यक्तिगत कुरा गर्दा उनी मिलनसार र जिम्मेबार पूर्णरूपमा पूरा गर्ने विद्यार्थी हुन्। अहिलेसम्म उनले विद्यालयमा सबै शिक्षक साथीको मन जितेर अध्ययनमा समर्पित भएका हुन्।

आदर्शको लगन र मेहनतका आधारमा अहिलेसम्म उनीबाट कुनै शुल्क लिएका छैनौं। सबै विषयलाई महत्वका साथ हेरेर अध्ययनमा समर्पित हुने गर्छन्। कुन विषयलाई कति समय दिएर अध्ययन गर्नुपर्छ भन्ने आफैं महसुस गरेर लाग्नु उनको राम्रो पक्ष हो।

सधैं जिज्ञासु रहेका आदर्शले विभिन्न ठाउँमा भएका साहित्यिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका छन्। उनले अहिले प्राप्त गरेको नतिजालाई एउटा हौसलाको रूपमा लिएर अध्ययनमा निरन्तर लाग्नुपर्छ।

म बिरामी भएर अस्पतालमा गएको बेला बाबुले राम्रो नम्बर ल्याएको छ भन्ने कुरा उसका साथीहरुले मलाई सुनाए। म धेरै खुसी भएँ। घरमा पढ्दा सधैं जीपीए फोर ल्याउने हो मम्मी भनेर पढ्यो। मैले त्यही सम्झिए। धेरै खुसी हुँदा खुसीका आँसु आउँदा रहेछन्।

आफूले राम्रा र नराम्रा कुराहरु आफैं छुट्याउन सक्ने उसमा रहेको सानैदेखिको क्षमता हो। उसले सधैं यही भनिरहन्छ– मैले केही फरक काम गर्नुपर्छ। घरमा रहँदा पनि एकान्तमा बसेर ठूलो स्वरमा पढ्ने गर्दछ। घरमा आएका पाहुना आफन्तजनसँग सधैं नम्रबोली र शिष्ट भएर प्रस्तुत हँुदा हामीलाई स्वभाविकै खुसी लाग्छ। आज बाबुले राम्रो अंक ल्याएको छ भन्दा त झनै धेरै खुसी लागेको छ। उसको बाबा पनि गुल्मीमा पढाउँदै हुनुहुन्छ। आजै खबर पाएपछि घर आउँदै छु भन्नुभएको छ।

आदर्शको नतिजाले शिक्षकहरुलाई निकै उत्साह मिलेको छ। विगत १ वर्षदेखि आदर्शलाई मैले पढाउँदै आएको हुँ। आदर्श नियमित अनुशासित विद्यार्थी हुन्। उनले कुनै पनि विषयलाई फरक–फरक दृष्टिकोणबाट अध्ययन गर्छन्। कक्षामा साथीहरुसँग एकदमै मिलनसार थिए। जानेका कुराहरु साथीहरुलाई सिकाउने र नजानेका प्रश्नहरु सरलाई सोध्ने गर्छन्। शिक्षकलाई अत्यन्तै आदर गर्ने आदर्शको राम्रो बानी हो।

प्रतिक्रिया दिनुहोस्