शेयर बजारमा सामान्य सुधार



 

नेपाल समाचारपत्र
काठमाडौं
पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारमा बुधबार भने सामान्य सुधार आएको छ। बुधबार नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर १ हजार ५ सय ५४ दशमलब ६९ को बिन्दुमा पुगेर रोकिएको हो।

नेप्से परिसूचक बढेपनि बुधबार कारोबार रकममा भने गिरावट आयो। बुधबार शेयर बजारमा १ सय ५२ कम्पनीका ८ लाख ९३ हजार ६ सय ८८ कित्ता शेयर ४६ करोड ७५ लाख १८ हजार ७ रुपियाँको शेयर किनबेच भए। मंगलबार बजारमा करिब ५८ करोडको रुपियाँ बराबरको शेयर किनबेच भएका थिए।

बुधबार कारोबारमा आएका आठ समूहमध्ये चार समूहका परिसूचकमा सुधार आए। बढ्नेमा सबैभन्दा बढी बीमा समूहको परिसुचकमा ३२ दशमलब शून्य ३ अंकको वृद्धि भयो। त्यस्तै बैंकिङ समूह ४ दशमलब ५३ अंक, होटल समूह ६ दशमलब ६९ अंकले र विकास बैंक समूह ३ दशमलब १६ अंकले बढे।
घट्नेमा सबैभन्दा धेरै गिरावट उत्पादनमूलक समूहमा आयो। उत्पादनमूलक समूहको परिसूचक ८ दशमलब शून्य २ अंकले घटेको हो। त्यस्तै जलविद्युत्, फाइनान्स र अन्य समूहका परिसूचकमा क्रमशः १ दशमलब ५३, १ दशमलब ४६ र १ दशमलब १६ अंकको गिरावट आए।

बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा एभरेस्ट बैंक लिमिटेड रह्यो। बुधबार बैंकका ३१ हजार ४ सय २२ कित्ता शेयर ४ करोड १० लाख ८३ हजार ५ सय ६८ रुपियाँमा किनबेच भए। बुधबार बैंकको शेयर मूल्य प्रतिकित्ता ४४ रुपियाँले बढेको हो। धेरै कारोबार गर्ने कम्पनीमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रोमा रहे।
बुधबार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। उक्त कम्पनीको शेयर मूल्य ६ दशमलब शून्य १ प्रतिशतले बढ्दा हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्वाधिक ७ दशमलब ५६ प्रतिशत शेयर मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस्