लोपोन्मुख सुरेल जातिको हविगत, उस्तै छन् चर्किएका घर



भूकम्पले चर्किएको घरअगाडि जुनकी सुरेल र आफन्तहरू ।

 

चिरञ्जीवी मास्के, दोलखा
लोपोन्मुख सुरेल जातिका अगुवा ७९ वर्षीया जुनकी सुरेल भूकम्पले चर्किएको भवनमा एक्लो जीवन बिताइरहेकी छन्। ‘छोराहरू भिन्न छन्, भूकम्पपछि लाभग्राहीको सूचीमा आफ्नो नाम पनि आएन। त्यसैले चर्किएकै घरमा जोखिम मोलेर एक्लै बसिरहेको छु।’ –वृद्धा जुनकीले भनिन्।

सुरेल जातिको अर्को अगुवा ७८ वर्षीया हरिकुमारी सुरेलको अवस्था पनि जुनकीको भन्दा भिन्न छैन। भूकम्पले घर चर्किएपछि उनी पनि टहरामा बस्दै आएकी छन्। लाभग्राहीको सूचीमा नाम पनि नभएको र घर बनाउने आर्थिक हैसियत पनि नभएकाले टहरामा बस्दै आएको हरिकुमारी बताउँछिन्।
जुनकी र हरिकुमारीलाई खानपान र लत्ताकपडाका लागि भने छोराहरूले सहयोग गर्दै आएका छन्। ‘खानलाई त्यस्तो समस्या त छैन, छोराहरूले हेरेका छन्। तर मर्नुअघि आफ्नो घरमा निर्धक्क बस्ने इच्छा भने पूरा होला जस्तो छैन।’ –जुनकीले भनिन्।

जम्मा २ सय ३७ जनसंख्या र ५५ घरधुरी रहेको लोपोन्मुख सुरेल जातिका अधिकांश परिवार चर्किएकै घरमा बसेका छन्। भूकम्पपछि एउटा परिवारले पक्की घर बनाएको र बाँकी परिवार टहरा तथा भूकम्पले चर्किएकै घरमा बस्न बाध्य भएको सुरेल जाति उत्थान समाजका केन्द्रीय अध्यक्ष रमेश सुरेल बताउँछन्। सुरेलहरूको आर्थिक अवस्था कमजोर भएको र सरकारले दिने ३ लाख अनुदान रकमले पक्की घर निर्माण गर्न सम्भव नभएकाले पनि अधिकांश सुरेल परिवार जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य भएको समाजका केन्द्रीय अध्यक्ष रमेशको भनाइ छ।

५५ घर धुरीमध्ये ४२ घर धुरीले अनुदान रकमको पहिलो किस्ता रकम ५० हजार लिएको भए पनि पक्की घर बनाउन नसकेको र लिएको पैसासमेत आवासका लागि सदुपयोग हुन नसकेको सुरेल जातिको उत्थानमा सक्रिय स्थानीय मधुसूदन आचार्यले बताए।

लोपोन्मुख सुरेलको ५५ घर धुरी मध्ये १३ घर धुरीको नामावली भने लाभग्राहीको सूचीमा नरहेको र उनीहरूले गुनासो फारम भरेको सुरेल जाति उत्थान समाजका महासचिव विकास सुरेलले बताए।

नेपालमा रहेको लोपोन्मुख ९ जाति मध्येमा पर्ने सुरेल जातिको जम्मा जनसंख्या २ सय ३७ भए पनि उनीहरूको उद्गम थलो गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरी (तत्कालीन सुरी गाविस वडा नम्बर ७) मा हाल २ सय १७ जनामात्र रहेका छन्। २० जना सुरेल भने दार्जिलिङमा रहेको सुरेल जातिको उत्थानमा सक्रिय स्थानीय आचार्यले बताए।

गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयमबहादुर खड्का कतिपय सुरेलको लाभग्राहीको सूचीमा नाम नरहेको र अधिकांश सुरेलले आर्थिक अभावका कारण पक्की घर बनाउन नसकेको कुरालाई गाँउपालिकाले गम्भीर रुपमा लिएको र उनीहरूको समस्या समाधानका लागि प्रयत्न गर्ने बताए।

गाँउपालिका प्रमुख खड्का लोपोन्मुख सुरेलहरूको आर्थिक अवस्थामा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसंगको सहकार्यमा गाँउपालिकाले विशेष योजना सञ्चालनका लागि तयारी गरिरहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्