मायाका गीतसँगै नरेश



 

गीत संगीतलाई नशा बनाएका गायक नरेश खातीले आफ्नो शब्दले भरिएका गीतहरू तयार पारेका छन्। ‘गीत राम्रो हुनलाई शब्द, लय र संगीत उपयुक्त हुनुपर्छ। म त्यसमा सचेत छु लोकगायक नरेश भन्छन्– ‘मेरो भविष्यको योजना भन्ज्याङ चौतारी, भीरपाखा, रीतिरिवाज लोकसंस्कृतिलाई जगेर्ना गर्ने खालका गीतहरूको प्रवद्र्धन गर्ने हो। त्यसैमा लागि परेको छु।’

भाइ मेक्सम खाती र गायिका विष्णु माझीको स्वर र आफ्नै शब्दमा सजिएको सानु कहाँ छौबाट चर्चामा आएका खातीका प्रायः गीतमा मायाका भाव झल्किन्छन्। उनले अहिलेसम्म ४० भन्दा बढी लोकदोहोरी गीतमा शब्द, संगीत र स्वर भरिसकेका छन्। रुँदै रुँदै तिम्रो शहर, जोगी बनायो, मुइ खानलाई आम्ला, झुट बोलेको होइन नामक गीति अडियो एल्बम तथा आउँदै गरेको तिजका भाकामा सजिएका गीतहरू र लोकपपका गीतहरू समेटिएको एल्बम बजारमा ल्याउने तयारीमा उनी छन्।

जन्मथलो दाङ घोराही उपमहानगरपालिका ९ अस्परीका नरेशको लक्ष्य गीत संगीतको बजारमा उकालो लाग्ने छ।

‘स्कुल जाँदादेखि नै गीतसंगीतमा रुचि थियो। लोकगीत प्रतियोगितामा उत्कृष्ट पनि हुन्थेँ। त्यसकै बलमा लोकगीतको बजारमा क्षेत्रमा प्रवेश गरेँ’ –उनले सुनाए। आधुनिक तथा पपगीतमा समेत शब्द भरेका नरेशका शब्दहरूमा जीवन भोगाइका विषय समावेश गरिएका हुन्छन्।

अहिले लोकगीतको बजारमा मौलिक सृजना गरेर दर्शक स्रोताको मन जित्नेभन्दा पनि कसरी चर्चामा आउन सकिन्छ भन्ने होडबाजी रहेको खातीको अनुभव छ। रसिलो छ बोली, यो ज्यान तिमै्र नाममा, माया नमार, आइ लभ यु, तिम्रो आँखामा आँशु, सपनीमा आऊ है आजलगायतका दर्जनौं गीतमा शब्द तथा लय भरेका खातीले मन छुने गीत नै लोकसंगीत हुने बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्