धोवीखोला कोरिडोरको निर्माणलाई तीव्रता दिन निर्देशन



 

काठमाडौँ, ७ असार । सहरी विकासमन्त्री प्रभू साहले धोवीखोला कोरिडोरको निर्माण कार्यलाई समन्वय गर्दै अघि बढाउन निर्देशन दिनुभएको छ ।

सहरी विकास मन्त्रालयमा बसेको आज बैठकमा कोरिडोरमा ढल निर्माण गर्ने काम ढिलो भई सडक कालोपत्र गर्ने काम लम्बिएको विषय उठेपछि मन्त्री शाहले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।

ढल निर्माण गर्ने जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कालो पुल हटाउन नसक्दा, बाटोका रहेका बिजुलीका खम्बाको व्यवस्थापन नहुँदा र सडकको लेबल थाहा नहुँदा काम अघि बढ्न नसकेको जानकारी दिएको थियो ।

समितिका सदस्यसचिव ज्योतिकुमार श्रेष्ठले मन्त्रालय मातहतका निकायबीच नै समन्वयको कमी भएकाले काम नभएको भन्दै पटक पटक ती विषयमा ताकेता गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले समितिले तीन वर्षसम्म पनि ढल निर्माण गर्न नसक्दा सडक कालोपत्र हुन नसकेको बताउनुभयो ।

“काम सुस्त भयो, कालो पत्र गर्ने बेलासम्म ढलको व्यवस्थापन हुन सकेको छैन,” उहाँले भन्नुभयो – “आगामी भदौसम्म ढल निर्माण गरिसक्ने र असोजमा कालोपत्र गर्ने भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्