जर्मनीको कठिन जित



 

लन्डन, (एजेन्सी)
रसियामा जारी फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अस्ट्रेलियालाई ३–२ गोलअन्तरले पन्छाएर कठिन जित हात पारेको छ।
जितसँगै समूह ‘बी’मा रहेको विश्वविजेता जर्मनीले अंक तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ। जर्मनीले खेलको पाँचौं मिनेटमा नै अग्रता लिएको थियो। लार्स स्टिन्डलको गोलमार्फत टोलीले शुरूआती अग्रता लिएको थियो। तर अस्ट्रेलियाले खेलको ४१औं मिनेटमा बराबरी गोल फर्कायो। टम रगीचले अस्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए।

तर त्यसको तीन मिनेट नबित्दै अस्ट्रेलियाका मास्सिमो लुओंगोले आफ्नो डी एरियाभित्र फाउल गरेपछि जर्मनीले पेनाल्टीको अवसर प्राप्त गरे। कप्तान जुलियन ड्रयाक्स्लरले पेनाल्टीलाई गोलमा परिणत गरेपछि जर्मनीले पहिलो हाफसम्म २–१ को अग्रता बनाएको थियो।
यसैगरी खेलको ४८औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीको गोल संख्या तीन पुर्याए। यता दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको अस्ट्रेलियाले खेलमा फर्कने भरमग्दुर प्रयास गरेका थिए। जुन खेलको ५८औं मिनेटमा देखियो। टमी ज्युरीचले गोल गरेपछि अस्ट्रेलियाले गोलअन्तर ३–२ को स्थितिमा पुर्याए। त्यसपछि खेलको बाँकी समयमा दुवै पक्षको गोल भएन र जर्मनीले जित सुनिश्चित गर्यो। योसँगै यस समूहमा चिली र जर्मनीको समान तीन–तीन अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्