प्रधानमन्त्रीको जन्मथलो रुवाखोलामा रोपाइँ समाप्त



 

डडेल्धुरा, ६ असार । चौथोपटक प्रधानमन्त्री हुनुभएका नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको जन्मस्थान रुवाखोला गाउँमा रोपाइँ सकिएको छ । असार १४ गते हुने निर्वाचनमा लाग्नुपर्ने भन्दै रुवाखोलाका कृषकले रोपाइँलाई चाँडै सकेको हुन् ।

निर्वाचनको समयमा रोपाइँ हुन नसक्ने र केही दिन चुनावमै लाग्नुपर्ने भएपछि रोपाइँ सक्याएको रुवाखालाका समाजसेवी चेतराज भट्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका आफन्तजनले पनि रोपाइँ र गोडमेल सक्याएर मतदानका लागि समय निकालेका छन् । उनीहरु असार १४ गतेको निर्वाचनमा मत खसाल्न व्यग्र छन् । आफूहरु रोपाइँ र अन्य गोडमेलको काम सकेर अब भोट हाल्नका लागि ढुक्कसँग बसेको प्रधानमन्त्रीका काका पर्ने ६० वर्षीय डम्बर देउवाले जानकारी गराउनुभयो । रोपाइँ र खेतबारीको जिम्मा अरु छिमेकीले लिएको भएपनि उनीहरुले चुनावमै खटिन सबै काम सकेका छन् ।

साविकको अशिग्राम गाविसको रुवाखोलामा खेतमात्रै रहेको भएपनि त्यहाँ बस्ने सबै घरपरिवारले धान रोप्ने कार्य सकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्